सिमलढाप । इच्छाकामना गाउँपालिकाको वडा नं.७ ले आफ्नै भवनबाट सेवा थालेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल लगायतको उपस्थितिमा वडा कार्यालयको प्रशासनिक भवनको शुभारम्भ गरेपछि वडाको सेवा सोही भवनबाट प्रदान गर्न सुरू भएको वडाअध्यक्ष बमबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार जिल्ला समन्वय समितिको ३० लाख र पालिकाको ३१ लाख रूपैयाँ गरी ६१ लाख रूपैयाँमा उक्त संरचना निर्माण भएको हो । आर्थिक वर्ष २०७६÷०७७ बाट निर्माण कार्य सुरू भएको हो । निर्माण कार्य समयमै सम्पन्न भए पनि कार्यालय भवनको उद्घाटन ढिलो भएको अध्यक्ष मगरले बताए ।

कार्यालयको उद्घाटन गरेपछि पालिका अध्यक्ष दानबहादुर गुरूङले वडाको सेवालाई अझ सहज र जनमैत्री बनाउन आग्रह गरे । इच्छाकामना गाउँपालिकाको भुगोल नै फरक रहेकोले जनताको समस्या र भूगोललाई हेरेर काम गर्नुपर्ने उनले बताए । ‘हामीले कार्यालय समयभित्र मात्रै काम गर्ने भनियो भने जनता सेवाबाट बञ्चित हुन सक्छ,’ उनले भने, ‘त्यसैले आवश्यक पर्दा साँझ–बिहान जतिखेर पनि सेवा दिन सक्नुपर्छ ।’
