रुस । युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसले शर्त अघि सारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धमा आफूले कब्जा गरेको युक्रेनी भूभाग पुनः युक्रेनमै गाभिन नसक्ने शर्त अघि सार्दै वार्ताका लागि तयार रहेको बताउनुभएको हो ।
रुसले युक्रेनका दोनेत्स्क, लुहान्स्कका पूर्वी क्षेत्रहरू, जापोरीजा र खेर्सनको दक्षिणी क्षेत्रलाई आफूमा गाभेको भन्दै एक महिना अघि जनमत सङ्ग्रह गराएको थियो । तर, पश्चिमा मुलुकले त्यसलाई मान्यता नदिएपछि रुसले युक्रेनका ती क्षेत्रलाई मान्यता दिनुपर्ने शर्त राखेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवार रुसी राष्ट्रपति पुटिनसँग छलफलका लागि आफू तयार रहेको बताउनुभएको थियो । बाइडनको प्रतिक्रिया पछि रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा भएका क्षेत्रलाई मान्यता दिए वार्ता गर्न तयार रहेको बताउनुभएको हो ।
यसैबीच, रुससँग जारी युद्धको क्रममा हालसम्म १३ हजार युक्रेनी सेनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किका सल्लाहकार मिखाइलो पोदोल्याकले झन्डै १० महिनादेखि जारी युद्धको क्रममा १३ हजार युक्रेनी सेनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो ।
पोदोल्याकको जानकारीलाई भने सरकारी निकायले हालसम्म पुष्टि गरेको छैन । युद्धमा हालसम्म १ लाख सेना घाइते भएका छन् ।