चितवन । चितवन क्षेत्र नं. २ को प्रतिनिधि सभामा स्वतन्त्र पार्टीको रवि लामिछानेले धमाल मच्चाईरहदा चितवन २ प्रदेश सभा ‘क’ मा नेकपा एमालेका उम्मेद्वार कृष्णप्रसाद सिलवालले जित हासिल गरेको छ।
मतगणनाको सुरुवात देखि नै अग्रता लिइरहेको सिलवालले गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका घनश्याम दाहाललाई १२४० मतको मतान्तरले जितेको हो।
चितवन २ प्रदेश सभा ‘क’ खसेको ४३०९७ मध्य एमालेका सिलवालले १६५०० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका दाहालले १५२६० मत मात्र पाए।
यो जितसँगै चितवनको पहाडी भूगोलले पनि पहिलो पटक सांसद पाएको छ। चितवनको पहाडी भूगोल भएको तात्कालिन ७ वडा गाविसहरु चण्डिभञ्ज्याङ, दाहाखानी, कविलास, दारेचोक, काउँले, सिद्धि र कोराकको राजनैतिक इतिहास हेर्ने हो भने अहिलेसम्म कोही पनि सांसद बनेको देखिदैन।
देश संघियतामा गएपछि साविकका पहाडी गाविसहरु चण्डिभञ्ज्याङ, दाहाखानी, कविलास र काउँले गाविसलाई गाभेर इच्छाकामना गाउँपालिका बनेको ५ वर्ष पछि इच्छाकामना गाउँपालिका ५ मुग्लिन निवासी कृष्णप्रसाद सिलवाल सांसद बन्न सफल भएका हुन्।
नवनिर्वाचित सिलवाल यस अघि २०५४ सालमा तात्कालिन दारेचोक गाविसका निर्वाचित उपाध्यक्ष हुन् भने हाल नेकपा एमाले इच्छाकामना गाउँकमिटिको अध्यक्ष छन्।