स्नेहा कर्ण, काठमाडौँ । भाईबहिनीको सम्बन्ध दर्शाउने सामा चकेवा पर्व मनाउने क्रम कम हुन थालेको छ । मधेश र मिथिला क्षेत्रका महिलाले विशेषगरी आफ्ना दाजुभाइको शक्तिको बखान गर्दै ११ दिनसम्म साँझपख सकेसम्म खनेको खेत वा आँगनबाहिर भेला भएर सामा खेल्ने गर्छन् । दाजुभाईको सुस्वास्थ्य, दीर्घायू र वीरता दर्शाउने पर्वको रुपमा रहेको सामा चकेवा खेल्दा दाजुभाईको बखानमा गीत गाउने परम्परा पनि छ ।
सामा–चकेवा पर्व महिलाको सङ्गठित प्रतिरोध, दिदीबहिनी र दाजुभाईबीचको अटूट प्रेम र घुसघुसे एवम् कुरौटेहरूलाई सजाय दिने सन्देश बोक्ने उत्सव पनि हो ।
सामा चकेवा कात्तिक शुक्ल प्रतिपदाबाट सुरु भई कात्तिक पूर्णिमासम्म खेलेर मनाइन्छ । तर हिजोआज मानिसको बढ्दो व्यस्तता, संस्कृतिप्रतिको उदासिनता लगायत कारणले सामा चकेवा मनाउने क्रम कम हुन थालेको छ ।
सामा सकिएको दिन अर्थात् कात्तिक पूर्णिमाका दिन विदाई गर्नुपर्ने हुँदा छोरीलाई विदाई गरे झैँ सबै आवश्यक सामान दिएर गीत गाउँदै अन्माउने चलन पनि रहेको छ । धान काटेर घर भित्र्याउने र नयाँ बाली खेतमा लगाउनेयाममा माटोका विभिन्न आकृतिका मूर्ति बनाएर खेलिने सामा चकेवा छठको खरनाको दिनबाट सुरु हुन्छ ।
यो पर्वमा सामा चकेवाका साथै चुगला, ढोलिया, भरिया, सतभइया, खजनचिडैया, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ, बृन्दावनलगायतका पात्र हुन्छन् ।
अन्न उब्जाउने खेतबाट खनेर ल्याइएको माटोले बनाईएका सामा चकेवाको सांस्कृतिक महत्व पनि ठूलो रहेको मिथिला संस्कृतिका जानकार नित्यानन्द मण्डलले बताउनुभयो ।
सामा–चकेवा लोक पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको समयदेखि नै भएको इतिहास छ । श्रीकृष्णका छोरी सामा र छोरा साम्बको कथामा आधारित यो पर्व विशेषगरि तराईका थारु र मधेशी समुदायले मनाउने गर्छन् । द्वापर युगबाट शुरु भएदेखि नै संस्कृतीको सम्बद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सामा चकेवा पर्वको अन्तिम दिन दिदीबहिनीले विभिन्न प्रकारका मिष्ठान्न भोजन तयार गरी प्रसादको रुपमा दाजुभाईलाई दिन्छन् । दाजुभाइले प्रसाद ग्रहण गरिसकेपछि माटोबाट बनाईएका मुर्ति, आफ्नो घुँडामा राखेर फुटाउने चलन छ ।
तर, हिजोआज मानिसको व्यस्तता बढ्नु, संस्कृतिप्रति पछिल्लो पुस्ताको अपनत्व कम हँदै जानु जस्ता कारणले सामा चकेवाको महत्त्वलाई कम आँक्न थालिएको मिथिला संस्कृतिका जानकार मण्डलले बताउनुभयो ।
सामा चकेवा पर्वले आपसी प्रेम र आत्मीयता वृद्घि एवं सहयोग विस्तारमा सकारात्मक सन्देश दिँदै आएको छ । तर, अनेकौँ कारणले सामा चकेवा मनाउने क्रम कम हुँदै जानु चिन्ताको विषय भएको जानकारहरू बताउँछन् ।