ध्यान कुलुङ, सङ्खुवासभा । आगामी निर्वाचनका लागि मत माग्दै हिँडेका उम्मेदवारहरू सहर मात्रै केन्द्रीत बनेका छन् । सङ्खुवासभाका गाउँघरका नागरिकहरू आफ्नो क्षेत्रमा उम्मेदवार मत माग्नै नआएको बताउँछन् । दलका नेता कार्यकर्ताहरू भोट माग्न गाउँसम्म आइनपुगेका मतदाताहरूको भनाइ छ ।
उम्मेदवारहरू सहर बजारमा मात्र केन्द्रीत हुँदा सङ्खुवासभाको गाउँमा चुनावी उत्साह देखिएको छैन । विगतका निर्वाचनहरूमा घरघरमा मात्र नभएर खेतबारीमा समेत पुग्ने उम्मेदवार तथा दलका नेताहरू यस पटक गाउँ पसेका छैनन् ।
जिल्लाको बजार क्षेत्र र जनघनत्व बढी रहेको क्षेत्रमा घरदैलो जारी रहेको भएपनि भोटखोला, मकालु, सभापोखरी, सिलिचोङ जस्ता दुर्गम स्थानीय तहको गाउँहरूमा कसैले पनि घरदैलो सुरु गरेका छैनन् ।
जसका कारण आफूहरूले उम्मेदवारको एजेण्डा तथा प्राथमिकता बुझ्न नपाएको चिचिला गाउँपालिका १ ढाँडगाउँका धनबहादुर गुरुङले बताउनुभयो ।
दुर्गम गाउँहरूमा साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि पुग्न सकेका छैनन् । गाउँघरमा चुनावी चहलपहल कम हुँदा मतदाताहरूमा चुनावी चासो देखिएको छैन । दुर्गम गाउँहरूमा चुनावी चासो नहुँदा मतदान गर्न जानेको सङ्ख्यामा कमी हुने सम्भावना बढेको छ ।
दुर्गम गाउँहरूमा दल तथा उम्मेदवारहरूको उपस्थिती कम भए पनि प्रत्येक घरमा निर्वाचन शिक्षा कार्यक्रम पु¥याउने गरि तयारी भईरहेको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख रामेश्वर निरौलाले जानकारी दिनुभयो ।
सङ्खुुवासभामा प्रतिनिधि सभा तर्फ १ र प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभाका लागि २ स्वतन्त्र सहित १२ जना चुनावी मैदानमा छन् ।
प्रदेश सभा (क) तर्फ एक स्वतन्त्र सहित ८ जनाको उम्मेदवारी रहेको छ भने प्रदेश सभा (ख) तर्फ २ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी रहेको छ । १ सय ६२ मतदान केन्द्र रहेको सङ्खुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।