ममता भट्ट, डडेलधुरा । पछिल्लो केही वर्ष यता डडेलधुरामा माटाको पालाको तुलनामा बिजुलीबाट बल्ने प्लाष्टिकका बत्तीको प्रयोग बढ्दै गएको छ । पहिले जस्तो दियोमा तेल भरेर बत्ती बाल्ने, घर सजाउने क्रम कम हुँदै गएर अहिले विद्यूतिय बत्तीहरू धेरै प्रयोग हुने गरेको हो ।
डडेलधुराको अमरगढि नगरपालिका–८ का नरबहादुर सार्किले ३० वर्ष पहिलेको तिहार र अहिलेको तिहारमा परिवर्तन आएको बताउनुभयो । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ र गोठ जतातलै माटाको दियोमा बत्ती बाल्ने चलन थियो ।
हिजोआज घरको धुरीदेखि दैलोसम्म नै रङग फेर्ने बत्ती बालेर तिहार मनाउने चलन आएको छ । हेर्दा सुन्दर नै देखिएपनि तिहारको मौलिकता भने यसले मासेजस्तो उहाँलाई लाग्छ । माटाको दियो, अमिलाको पातबाट बनाईएको साना दुनामा तेल हालेर बत्ती बाल्ने क्रम कम हुन थालेको छ । तिहारमा सकेसम्म दियोमा तेल भरेर बालिएको बत्तीले नै मौलिकता जोगाउने पाका पुस्ताको विचार छ । बिजुली बत्ती आउनुअघि रङ्गिविरङ्गगी मैनबत्ती बाल्ने चलन रहेको थियो ।
अहिले धेरै जसो धिपधिप गर्दै बिजुलीबाट बल्ने बत्ती आएको छ । आधुनिकतासँगै सहजता थपिदै जानु सकारात्मक भएपनि मौलिकता जोगाउदै नयाँ पुस्तालाई यसको महत्व बुझाउनु आवश्यक रहेको संस्कृतिविद् मुरलिधर अवस्थीको भनाई छ । आयातीत संस्कृतिको प्रभावमा बढ्दै गएमा एकदिन परम्परा र मौलिकता मासिन सक्ने चिन्ता रहेकाले मौलिकता जोगाउदै पर्व मनाउनुपर्नेमा विज्ञहरूको जोड रहेको छ ।