दिपक खत्री, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साङ्गाचोकगढी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गूणस्तर उकास्नको लागि अभियान चलाएको छ । नगरपालिकाभित्र रहेका ८० सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले अनुगमनको कामलाइ तीव्र पारेका छन् ।
चुनाव अघि नै उम्मेद्वारहरूले शैक्षिक गुणस्तरको विषय मुल एजेण्डा बनाएका थिए । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नगरपालिकामा शिक्षा शाखाका कर्मचारीसहित जनप्रतिनिधि स्कुल–स्कुलमा पुग्न थालेका छन् । प्रमुख उपप्रमुख सहितको टोली विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन् ।
विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले नगर भित्रका ८० वटा विद्यालयमै पुगेर अन्तरक्रिया गर्ने योजना अनुसार नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाको टोलीले विद्यार्थीसँग अन्तरक्रिया, विद्यार्थी र शिक्षकउपस्थित भए–नभएको हाजिरी जाँचदेखि विद्यालयका समस्या सुन्ने र सुझाव दिने गर्दै आएको छ ।
यस्तो अनुगमनबाट शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभाजनदेखि विद्यार्थीको शैक्षिक उपलब्धीको मूल्याङ्कनलगायतका समग्र अवस्थाबारे जानकारी लिन सजिलो हुने पालिकाले विश्वास राखेको छ । प्रायः सामुदायिक विद्यालयहरूमा भवनलगायत भौतिक संरचना पर्याप्त भए पनि कतै दरबन्दी अभाव, कतै शैक्षिक सामग्रीको अभाव, कतै विद्यार्थी अभाव जस्ता समस्या पहिचान भएका छन् ।
विद्यालयको शैक्षिक गुणस्तरको मुख्य आधार नै बाल विकास भएकाले तल्लो तहको शैक्षिक सुधारका लागि योजना बनाउदै शैक्षिक सुधारका लागि अनुगमनपश्चात ठोस योजना बनाएर कार्यान्वयन गर्ने नगरपालिकाले जनाएको छ । पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण कम देखिन्छ ।