उषा तामाङ, काठमाण्डौ । समयमै प्राथमिक उपचार नपाउँदा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या धेरै हुने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । गत आर्थिक वर्ष मात्रै सडक दुर्घटनामा परि दुई हजार आठ सयभन्दा बढीको मृत्यु भएको थियो ।
सवारी दुर्घटना हुँदा घाइतेको उद्धार गर्दै अस्पताल पठाउने गरिन्छ तर घटनास्थलमै घाइतेलाई प्राथमिक उपचार उपलब्ध गराउँदा उनीहरूको मृत्यु हुने सम्भावना ८० देखि ९० प्रतिशतसम्म हुने डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसका लागि सवारी चालक अनुमती पत्र लिने बेला नै छोटो अवधिको प्राथमिक उपचार सम्बन्धी तालिम लिएको हुनुपर्ने, प्रत्यक सवारी साधनमा अनिवार्य प्राथमिक उपचारका सामग्री राख्नुपर्ने लगायतको व्यवस्थालाई अनिवार्य लागु गर्न सकिने डा. बस्नेतको भनाइ छ ।
दुर्घटनास्थलमा सबैभन्दा पहिले प्रहरी पुग्ने गरेको छ तर ७५ हजारभन्दा बढी प्रहरी मध्ये करिब ६ सयले मात्रै प्राथमिक उपचारसम्बन्धी तालिम लिएका छन् । जनस्वास्थ्य विज्ञ कृष्ण नागिला दुर्घटनास्थलमा खटिने प्रहरीसहितका सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतका उद्धारकर्तालाई अनिवार्य तालिम दिएर स्वास्थ्य सामग्री समेत सरकारले उपलब्ध गराउनुपर्ने बताउनुहुन्छ ।
सन् २००० बाट नेपालमा प्रत्येक वर्ष प्राथमिक उपचार दिवस मनाइँदै आएको छ । तर प्राथमिक उपचार सम्बन्धी अवधारणाले व्यापकता पाउन सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सन्जय कुमार ठाकुरले प्राथमिक उपचार सम्बन्धी तालिम स्वास्थ्यकर्मी सहितको जनशक्तिलाई प्रदान गर्दै आएको बताउनुभयो । सडक दुर्घटना कम गर्ने उपायसँगै दुर्घटनामा परेका यात्रुको उपचारमा पनि सरकारले ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।