सुसिला श्रेष्ठ, काठमाडौँ । पछिल्लो एक दशकको अवधिमा नेपालमा खाद्यान्न आयात ८ गुणाले बढेको छ । देशको कुल आयात व्यापारमा कृषिजन्य उपजले पाचौँ स्थान ओगटेको छ । गत वर्ष नेपालले साढे ३ खर्बको खाद्य वस्तु आयात गरेकोमा करिब ६० प्रतिशत वस्तु भारतबाट आयात गरेको छ । तर पछिल्लो समय भारतले कृषिजन्य उपज निर्यातमा कडाई गरिरहेको छ । जसका कारण चाडबाडका बेला नेपालीको भान्छा महङ्गिने अवस्था देखिएको छ ।
विरगञ्ज पर्सामा रहेको ओम्नी एग्रो प्राईभेट कम्पनीले वार्षिक ९० करोडको चामल बिक्री गर्दै आएकोमा ७० प्रतिशत धान भारतबाट आयात गर्ने गरेको छ । भारतले चामल निर्यातमा कडाइ गरेसँगै व्यापारमा नकरात्मक प्रभाव पर्ने चिन्ता बढेको उत्पादन विभाग प्रमुख मोतीलाल टाटरले बताउनुभयो ।
भन्सार विभागको तथ्याङ्क अनुसार भारतबाट गत आर्थिक वर्ष नेपालले करिब २ खर्बको खाद्य वस्तु आयात गरेको छ । जसमा सबैभन्दा बढी झण्डै एक खर्बको तेलको कच्चा पदार्थ आयात गरेको छ । तरकारी तथा दलहन २७ अर्बको आयात गरेको छ भने पशुपन्छीको आहाराको लागि २० अर्बको खाद्यान्न आयात गरेको छ । दुग्धजन्य पदार्थ तथा पशुजन्य खाद्य पदार्थहरू करिब २ अर्बको आयात हुँदा पिठो, मैदा, सुजी, च्याख्ला १ अर्बको आयात भएको छ ।
पछिल्लो समय भारतले खाद्यान्न निर्यातमा कडाइ गरिरहँदा यसले नेपालमा महङ्गी बढ्ने अर्थ विज्ञ डाक्टर चन्द्रमणी अधिकारीले बताउनुभयो । खुला सिमाना, भारतीय बन्दरगाहमार्फत हुने नेपालको तेस्रो मुलुकसँगको व्यापार, नेपालमा भारतीय लगानीलगायत पक्षले नेपाल र भारतको वैदेशिक व्यापार बढ्दो छ भने भारतसँगको व्यापार घाटा पनि बढ्दो छ ।
समस्याको दीर्घकालिन समाधानका लागि नेपाल खाद्यन्नमा आत्मनिर्भर हुनुपर्ने कृषि विज्ञहरू बताउँछन् । भारतको कुल वस्तु निकासी गन्तव्यका आधारमा नेपाल १० औँ स्थानमा छ । भारतले कुल आयातको ०.१५ प्रतिशत मात्र नेपालबाट आयात गर्दा, नेपालको कुल आयातको ६० प्रतिशतभन्दा बढी भारतबाट हुने गरेको छ ।