जीवन कैला, कोल्टी बाजुरा । केही वर्षअघिसम्म बजारको अभावमा घर तथा बारीमा नै कुहिएर जाने बाजुराको स्याउले अहिले भने बजार पाउन थालेको छ । स्याउ ढुवानीमा अनुदान सहयोग हुन थालेपछि बाजुराको स्याउ जिल्ला बाहिर जान थालेपछि किसान खुसी भएका छन् ।
सडक समस्याले बारीमै कुहिने गरेको स्वामिकात्तिक खाप गाउँपालिकाका किसानले लगाएको स्याउ दुई वर्ष यता भने जिल्ला बाहिर ढुवानी हुने गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानामन्त्री कृषि आधुनिकिकरण परियोजनाले किसानले फलाएको स्याउ बारीबाट नै ढुवानी गर्ने व्यवस्था मिलाइदिएको हो ।
यसरी सरकारी सहयोगमा स्वाउ बेच्न पाउँदा खुसी लागेको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय चन्द्र बहादुर रोकाया बताउनुहुन्छ । स्याउ ढुवानीमा अनुदान सहयोग भएपछि स्याउ बिक्रिका लागि किसानलाई अफ्ठेरो छैन । गाउँपालिकाको स्याउ जिल्ला बाहिरका बजारमा पठाउनको लागि कृषि ज्ञान केन्द्र र प्रधानामन्त्री कृषि आधुनिकिकरण परियोजनाले ३÷३ लाख गरी ६ लाख अनुदान छुट्याएको छ । यसले गर्दा सहज भएको किसानहरू बताउँछन् ।
यो मौसममा बाजुरामा स्याउ पाकेर रातै हुने गरेको छ । बाजुरामा ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा स्याउको खेती गरिएको छ । जहाँबाट वार्षिक लगभग एक हजार २० मेट्रिकटन स्याउ फल्ने गरेको छ । त्यसमध्य लगभग १ हजार ५ सय उत्पादन स्वामिकात्र्तिक खापर गाउँपालिकामा मात्रै हुन्छ । तर, जिल्लामा चिस्यान केन्द्र छैन, जसका कारण स्याउलाइ धेरै समयसम्म भण्डारण गरेर राख्न सकिँदैन ।
अहिले भइरहेको ढुवानीमा किसानले आफ्नो बारीमा फलेको स्याउको गुणस्तर अनुसार रकम पाइरहेका छन् । ठेकेदारले ए ग्रेडको स्याउलाई प्रतिकिलो ५० रूपैयाँ, बी ग्रेडकोलाई ४० र सी ग्रेडको स्याउलाई ३० रूपैयाँमा खरीद गरिरहेका छन् । हालसम्म गाउँपालिकाबाट मात्रै करीव ६० क्विन्टल स्याउ ढुवानी भईसकेको छ ।
‘जसले खायो, उसैले थाहाँ पायो’ भन्ने सन्देशसहित बिक्रि भइरहेको बाजुराको विषादिरहित अर्गानिक स्याउ काठमाडांै, नेपालगञ्ज र धनगढी लगायतका सहरमा जाने गरेको छ । बाजुरामा वार्षिक एक हजार २० मेट्रिकटन स्याउ उत्पादन हुने गरेपनि करिब ८ सय क्विन्टलको मात्रै बजारीकरण हुने गरेको छ । बाँकी स्याउ खेर जाने अवस्थामा छ । स्याउ ढुवानीमा दिइने अनुदान बढाउन र सबै क्षेत्रमा यो कार्यक्रम गर्न किसानको माग छ ।