दार्चुला । दार्चुलामा गयरातिदेखि परेको वर्षाका कारण आएको पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एकै परिवारका ३ जना सदस्य रहेका छन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले रातिदेखिको पानीपछि आएको वर्षाका कारण १० वटा घरमा क्षति पुगेको र एउटा विद्यालयमा पनि क्षति पुगेको सीआईएनसँग बताउनुभयो ।
२ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपनि सहायक प्रमुख जिल्ला अधिकारी साउँदले प्रारम्भिक विवरण अनुसार ३ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको बताउनुभयो ।
पहिरोमा परी घाइते भएका एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएपछि बस्ती कटानको जोखिम बढेको छ ।
नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ । बाढीले दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ ।