उषा तामाङ, काठमाडौँ । प्रदेश सरकारहरूले विकास निर्माणमा पुललाई प्राथमिकता दिएका छन् । झण्डै पाँच वर्षमा सात वटै प्रदेश सरकारहरूले ७ सयभन्दा बढी पुल निमाृण गरेका छन् । जसका कारण नागरिकलाई आवतजावतमा सहज भएको छ भने केही क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएका छन् ।
गण्डकी प्रदेशले पाँच वर्षको अवधिमा प्रदेशभरि७२ वटा सडक पुल र ५१ वटा झोलुङ्गे निर्माण गरेको छ । प्रदेश सरकारले नै रुपा तालमाथि निर्माण गरेको पुलका कारण पर्यटकिय गतिविधि बढेको छ ।
त्यस्तै यही अवधीमा बागमती प्रदेशमा २ अर्ब ५० करोडको लगानीमा ६९ पुल मोटरेवल र ६ वटा झोलु्ङगे पुल बनाइएको यातायात पूर्वाधार निर्देशनालयका सूचना अधिकारी ईन्जिनियर हरि प्रसाद ओझाले सीआईएनलाई जानकारी दिनुभयो ।
प्रदेश १ सरकारले १ सय ७ झोलुङ्गे र ५५ वटा सडक पुल निर्माण गरेको छ भने १ सय ४१ वटा पुल निर्माणाधीन अवस्थामा छन् । मधेस प्रदेशमा निर्माण सुरु गरिएका ४४ सडक पुलमध्ये १५ वटाको मात्रै काम सकिएको छ ।
लुम्बिनी प्रदेशमा८३ वटा पुल निर्माणधीन अवस्थामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले जानकारी दिनुभयो । जसमध्ये चालिस वटा पुल सम्पन्न हुने चरणमा रहेको र अन्यलाई बहुवर्षिय योजनाका रुपमा अघी बढाईएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशमा पाँच वर्षमा १६ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल बनेका छन् । सुदूरपश्चिम प्रदेशमा भने २२ सडक पुल र २ सय ५३ वटा झोलुङ्गे बनेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले बताउनुभयो ।