काठमाण्डौ । वन्यजन्तुका कारण मानव समुदायमा बढ्दै गएको क्षति न्यूनिकरणका लागि सरकारले १ अर्बको लागतमा प्रधानमन्त्री मानव–वन्यजन्तु उद्धार तथा राहत कार्यक्रम चलाउने भएको छ । यो कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चासो देखाएका कारण तत्काल कार्यान्वयनमा जाने वन मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले बजेट माग्दै केही दिनमा अर्थमन्त्रालयमा प्रस्ताव पठाउने मन्त्री प्रदीप यादवले सीआईएनसँग बताउनुभयो । प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कार्यक्रमले वन, आरक्ष, मध्यवर्ती क्षेत्रका नागरिकलाई जीविकोपार्जनका लागि सहयोग पुग्नुका साथै बाघ, हात्तीलगायत वन्यजन्तुका कारण बर्सेनि हुने जनधनको क्षतिमा कमि आउने पनि मन्त्री यादवको विश्वास छ ।
१२ वटा निकुञ्ज, २ वटा संरक्षित क्षत्र, १३ वटा मध्यवर्ती क्षेत्र आसपासका नागरिकका लागि प्राथमिकताका आधारमा कार्यक्रम चलाउने तयारी वन मन्त्रालयको छ । बर्दिया र पर्साका बढी जोखिम भएका बस्ती क्षेत्रमा तारबार गर्ने योजना बनाइएको मन्त्री यादवले जानकारी दिनुभयो ।
सन् २०१० मा १ सय २१ रहेको बाघको सङ्ख्या १२ वर्षमा दोब्बरले बढेर ३ सय ५५ भएपछि सरकारल मानव–वन्यजन्य उद्धार तथा राहत कार्यक्रम चलाउने तयारी गरेको हो ।