काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उहाँले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताउनुभएको हो ।
यो समाज भत्काउने विचार भएको तर समाज बनाउने विचार नभएको उहाँको भनाइ थियो । समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धाहरु पनि चाहिने उहाँले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीलाई विदा गरौं भन्ने आशयका अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् ।
त्यसतर्फ लक्षित गर्दै उहाँले कार्यकर्तालाई पनि यो भनाइको खण्डन गर्न आग्रह गर्नुभयो । प्रचण्डले परिवर्तन नरुचाउनेहरुले अनेक बहानामा वृद्ध नेताहरूलाई निषेध गर्न खोजेको आरोप लगाउनुभयो ।