अविनाश आचार्य, काठमाडौँ । परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा अध्ययनको विषय छनोट गर्नु गलत भएको विज्ञहरूले बताएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि धेरै विद्यार्थी अब कुन विषय पढ्ने भन्ने अन्योलमा छन् । विद्यार्थीहरूले एसईईलाई उच्च शिक्षा अध्ययनको एउटा खुड्किलो मान्ने गरेका छन् ।
नेपालमा पठनपाठनका विषयहरूलाई परीक्षामा पाएको अङ्कका आधारमा वर्गीकरण गर्ने परिपाटी नै गलत भएको शिक्षाविद्हरू बताउँछन् । विद्यार्थीको रुचीका आधारमा विषय छनोट गर्नुपर्ने शिक्षाविद् डा. महिन्द्र खनालले बताउनुभयो ।
अभिभावकले सामाजिक प्रतिस्पर्धा र प्रतिष्ठालाई पनि आफ्ना छोराछोरीको अध्ययनको विषयसँग जोड्ने गरेका छन् । मनोविद् गोपाल ढकालका अनुसार धेरै अभिभावकले बालबालिकालाई आफ्नै रुचिको भारी बोकाउँछन् । जुन उनिहरूको क्षमता भन्दा गह्रौ हुन्छ ।
तर बालबालिकाको रुचि र क्षमताको ख्याल नगरि उच्च शिक्षा अध्ययनको विषय छनोट गर्दा, लगानी खेर जाने र शिक्षाको गुणस्तर नै खस्किने शिक्षाविद्हरूको तर्क छ ।