चितवन, ३ साउन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भई वर्षा हुने बताएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
आज बिहानदेखि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भन्दै देशका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ ।
देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाले देशका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट जोगिन पनि आग्रह गरेको छ ।