Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

समाज

‘लिभिङ टुगेदर’मा बस्ने बढ्दै, कानुन नबन्दा समस्या

‘लिभिङ टुगेदर’मा बस्ने बढ्दै, कानुन नबन्दा समस्या

कालीमाटी महिला सेलमा मात्र मासिक १० जनासम्म युवतीको उजुरी

images

इच्छाकामना न्युज

१, श्रावण २०७९
‘लिभिङ टुगेदर’मा बस्ने बढ्दै, कानुन नबन्दा समस्या
images

सीता न्यौपाने, काठमाण्डौ, १ साउन । २७ वर्षीया संगीता तिमल्सिना (नाम परिवर्तन) स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहँदा एक युवकसँग मायाजालमा परिन् । युवकको दाइ साथी भएकाले उनीहरूको पारिवारिक जमघटमा चिनजान भएको थियो । भेटघाटमा उनीहरू कतिबेला प्रेममा परे पत्तै पाएनन् । 

कलेज पढ्ने बेला रिलेसनमा बस्न संगीताको रत्तिभर मन थिएन तर युवकको केयर गर्ने बानी, सोधीखोजी गर्ने, दुःख सुख सोध्ने बानीले उनी नचाहेर पनि युवकसँग नजिकिइन् । एक अर्कालाई नजिकबाट चिनजानको आधारमा एक वर्षपछि उनीहरू सँगै बस्ने निर्णय गरे । 

दुवैजना काठमाडौँमा एक्ला एक्लै थिए । बिरामी हुँदा पनि हेरचाह गर्न गाह्रो, भेट भएपनि घर फर्किने हतारो । खर्च उस्तै हुने । सबै कुरा मध्यनजर गर्दै एकै ठाउँमा बसे उचित हुने ठहर गर्दै सँगै बस्न थालेका थिए । 

बिहे नभएपनि उनीहरू श्रीमान् श्रीमतीजस्तै भएर बसे । युवक अफिस जान्थे भने संगीता कलेज पढ्दै थिइन् । पढाइ सकेर कुनै सानोतिनो जागिर गरेपछि घरमा भनेर बिहे गर्ने संगीताको योजना थियो । त्यसमा युवकको पनि सहमति थियो । 

यसैबीच स्नातकोत्तर सकेर संगीताले स्कुल पढाउन थालिन्  । साथसाथै उनले शिक्षक सेवा आयोगको तयारी गर्न थालिन् । 

सम्बन्धको डोरी कसिलो थियो । र, त लिभिङ टुगेदरमा बसेको ६ वर्ष भैसक्दा पनि खासै नोकझोक थिएन । तर, संगीतालाई अब भने घरजम गर्नु हतार हुन थालेको थियो । किनकि वरपरका मान्छेहरूले उनीप्रति हेर्ने नजरियाले उनलाई गाह्रो भएको थियो । 

संगीतालाई बिहेको प्रस्ताव प्रेमीले नै राखोस् भन्ने थियो । तर ६ वर्ष हुँदा पनि प्रेमीले बिहेको कुरा ननिकालेपछि उनी आफैले बिहेको कुरा गरिन् । त्यतिबेला युवकले आफ्नो मात्र जागिरले गुजारा गर्न मुस्किल भएको बताए । पहिले तिमीले शिक्षक सेवा आयोगमा नाम निकाल र त्यसपछि बिहे गरौँला भनेर टारे । 

तर संगीतालाई जागिर सके सरकारी, भए प्राइभेट भएपनि खाइहालिन्छ भन्ने थियो । उनलाई त्यतिबेला बिहे नै प्राथमिकतामा परेको थियो । बिहे नगर्दा यही जागिरले पुग्ने, बिहे गरेपछि यही जागिरले नपुग्ने हुन्छ र ? सुख दुःख जे जसो सँगै गरौंला भन्दै उनले आफ्नो हठ छाडिनन् । 

संगीताले जब बिहेको कुरा बारम्बार उप्काउन थालिन्, तब प्रेमीले केही दूरी बनाउँदै गएको उनलाई अनुभूति हुन थाल्यो । तिमीलाई एक वर्षसम्म छोड्न सक्दिन भनेर उ अन्तर्राष्ट्रिय मिसनमा समेत नगएको मान्छे । आजकाल अफिसको काम भन्दै कहिले बुटवल, कहिले पोखरा त कहिले धरान जान थाले । 

घरदेखि दुई दिन बाहिर बस्न नसक्ने मान्छे हप्तौँसम्म अफिसको काम भन्दै बाहिर बस्न थाले । यस्तै खालका धेरै बहाना बन्दै जान थालेपछि झगडा  हुन थाल्यो । त्यसपछि उ घर आउनै छाड्यो । एक दिन अचानक एउटा नयाँ नम्बरबाट संगीतालाई फोन आयो । उसले आफूलाई भाइ बताउँदै भन्यो, ‘दाइ मिसनमा हाइटी जानु भयो । हतारमा हुँदा खबर गर्न नपाएको कुरा गर्दै हुनुहुन्थ्यो । मलाई खबर गर्न भन्नुभएको छ ।’ 

कोही अनजान मान्छेसँग श्रीमान्को विशेष खबर आउला भनेर संगीताले कल्पना पनि गरेकी थिइनन् । उनी त्यो भाइसँगै फोनमा रुन थालिन् । त्यसपछि भाइले दिदी मलाई माफ गर्दिनु मैले झुट बोले । दाइले हाइटी मिसनमा गयो भनेर भन्दे भन्नु भएको थियो । तर तपाईंले दाइलाई कति माया गर्नु हुँदो रहेछ । तपाईं रोएपछि मैले आफूलाई सम्हाल्नै सकिन । मलाइ माफ गर्दिनु दाइ हेडक्वार्टर नै हुनुहुन्छ भनेर फोन राख्यो । 

यसरी कुरा झुट बोल्ने अवस्थासम्म पुगेपछि संगीतालाई केही गडबड छ भन्ने शंका लाग्यो । उनले आफ्नै तरिकाले सोधखोज गरिन् । फाटेको लुगा र झुट कुराले धेरै समय छुप्न सक्दैन भनेजस्तै युवकको वास्तविकता लुक्न सकेन । उ विवाहित रहेछ । घरमा एक छोरी रहिछिन् । काठमाडौँमा संगीतालाई त उसले ऐसआरामको लागि राखेको रहेछ । तर संगीताले यी सबै झुटलाई प्रेम ठानेर बसिन् । जसलाई सर्वस्व जीवन सम्झेर बसिन्, तिमी विना बाँच्नै सक्दिन भन्ने मान्छेको त दुई वर्षकी छोरी पो थियो । 

उसँग बिताएका ७ वर्षमा संगीतालाई अन्य केटाहरूले विवाहको प्रस्ताव नराखेका होइनन् । तर उनी आफ्नो सबथोक उही हो भनेर बसिन् । त्यही मान्छे अपराधी निस्केला भनेर उनले सोच्न पनि सकिनन् । उसले दिएको धोका सहन नसकेर पटक पटक आत्महत्या गर्ने मन नआएको होइन तर घरका बुढा बाआमा सम्झेर सम्हालिने गर्थिन् । 

संगीता अदालत जाने विचारमा थिइन् तर साथीले लिभिङ टुगेदरबारे नेपालमा कुनै कानुन नभएकाले न्याय पाउने सम्भावना नभएको बताएपछि उनी झनै टुटिन् । त्यसपछि केटासँग उनी एक्लै लड्न थालिन् । तर केटाले उनलाई आफ्नो बेइज्जत गरे मारिदिने धम्की दिन थाल्यो । हिजो एकअर्काको अंगालोमा बाँधिएर सँगै जीवन जिउने सपना देखेका पात्र तँलाई मार्छु, काट्छु भन्ने अवस्थासम्म पुगे ।

आफू लिभिङमा बसेर पाउनु दुःख पाएपछि संगीताले आजकाल आफूभन्दा साना बहिनीहरुलाई लिभिङमा नबस्न सल्लाह दिन्छिन् । लिभिङमा बस्दा मान्छेहरूले आफ्नो परिचय लुकाएर बस्छन् । साथै बसेको कुरा कसैलाई सुनाउँदैनन् । समाजले नस्वीकारेको कुरा लुकाउन बाध्य हुन्छन् । लिभिङमा बस्दा हुन सक्ने समस्याबाट केटी मान्छे धेरै पीडित हुनुपर्ने संगीताको बुझाइ छ । 

संगीताको जस्तै दुःख सिर्जनाको पनि

त्यस्तै, अर्की पात्र २५ वर्षीया सिर्जना खड्का (नाम परिवर्तन) पनि एक युवकसँग तीन वर्ष लिभिङमा बसिन् । गाउँबाट काठमाडौं पढ्न आएकी उनी आफ्नी विदेशमा बस्ने साथीबाट प्रभावित भएर लिभिङमा बसेको सुनाउँछिन् । 

खर्च कम गर्न मन मिल्ने साथीसँग आफू विदेशमा विदेशी केटा साथीसँग लिभिङमा बसेको सुनाएपछि सिर्जनालाई पनि यो आइडिया मन पर्यो । त्यहीबेला उनी एक युवकसँग प्रेममा परेकी थिइन् । उनीहरुबीच प्रेम भएपनि पछि गएर बिहे गर्ने र घरजम गर्ने कुनै योजना थिएन । जति समय एकअर्कासँग खुसी भएर बस्न सकिन्छ, त्यति दिनसम्म सँगै बस्ने कुरा थियो । तर सँगै बस्ने क्रममा उनी गर्भवती भइन् । गर्भवती भएपछि उनलाई मातृत्वले तान्यो । उनले प्रेमीलाई बिहे गर्न दबाब दिँदै आफूले बच्चा जन्माउन चाहेको बताइन् । 

तर उनको प्रेमीले बच्चा जन्माउन र उनीसँग बिहे गर्न ठाडै इन्कार गरे । उनले आमाबाबुले नै रोजेको केटीसँग बिहे गर्नुपर्ने आफ्नो बाध्यता रहेको सुनाए । बच्चाको बाबुले नै बच्चा नचाहेपछि सिर्जनाले हार खाइन् । र, उनैको पछि लागेर गर्भपतन गर्न बाध्य भइन् । 

केटालाई केटी मान्छेको शरीरसँग मात्रै मतलब हुने रहेछ । जब जिम्मेवारी लिनुपर्ने अवस्था आउँछ । उसले असली रूप देखाउने रहेछ, आफ्नो पुरुषत्व देखाउने रहेछ । उनी त्यो दिन आमालाई सम्झिएर धेरै रोइन् । यदि बिहे गरेको श्रीमान्बाट गर्भवती भएको भए यो दिन देख्नुपर्ने थिएन भन्ने लाग्यो ।

उनले आफू उपर परेको बज्रपात आमालगायत कसैलाई सुनाउन सकिनन् । कसैसँग आफ्नो पिडा सुनाउन नसक्दा मान्छे भित्रभित्रै मर्ने रहेछ । गर्भपतन गरेपछि उनलाई प्रेमीसँग बस्न मनै लागेन र छुट्टै बसिन् । केटाले पनि सहजै स्वीकारेर छुट्टै बस्न थाल्यो । 

समयसँगै ती घाउ पुरिदै गएका थिए । बिर्सन आवश्यक पनि थियो । त्यसै क्रममा उनी फेरि अर्को एक पुरुष साथीसँग नजिक हुन पुगिन् । तर उनलाई पहिले जसरी सम्बन्ध बनाउने कुरामा रुचि थिएन । गर्भपतन गर्नुपरेको पीडाले उनी हरेक दिन आफूलाई दोषी ठह्याउँथिन् । त्यसैले नयाँ प्रेमीसँग उनलाई सम्बन्ध बनाउन मन थिए । 

उता प्रेमीले यौन सम्बन्धको लागि प्रस्ताव गरिरहन्थे । प्रेमीले फकाइरहँदा पनि उनी ‘कन्भिन्स’ हुन सकिनन् । त्यो दिन उनको प्रेमी रिसाए । तर रिसको झोकमा उनले त्यस्तो कुरा बोल्लान् भन्ने सिर्जनालाई लागेको थिएन । पहिलेको प्रेमीसँग सम्बन्ध बनाउन हुने मसँग नहुने भनेर उनले प्रश्न पो गरे । 

पहिलेको प्रेमीको बच्चा फालेको समेत कुरा उसलाई थाहा रहेछ । पहिलो प्रेमीकै उनी साथी रहेछन् । उनी त्यो कुरा सुनेर छाँगाबाट खसेझैँ भइन् । शारीरिक सम्बन्धको लागि पुरुष यो हदसम्म गिर्न सक्ने कुरा उनले त्यो दिन मात्र थाहा पाइन् । 

मासिक ७ देखि १० जनासम्म युवतीको गुनासो

यी त केही प्रतिनिधि घटना मात्र हुन् । कालीमाटी प्रहरी वृत्त महिला सेलकी इञ्चार्ज प्रहरी निरीक्षक सपना खड्काका अनुसार पछिल्लो समय महिला सेलमा सबैभन्दा बढी मुद्दा  लिभिङ टुगेदरमा बसेर अन्यायमा परेको भन्दै युवतीहरू आउने गरेको बताउँछिन् । 

उनका अनुसार महिनामा कम्तीमा ७ देखि १० जनासम्म महिला लिभिङमा बसेर अन्यायमा परेको समस्या लिएर आउने गरेका छन् । महिला सेलको तथ्याङ्कअनुसार वर्षमा करिब सय जना भन्दा बढी महिला लिभिङकै समस्या लिएर आएको पाइन्छ । 

लामो समय लिभिङमा बसेर बिहे गर्न आनाकानी गर्ने गरेको पीडितहरुको गुनासो छ । कोही गर्भवती बनाएर पार्टनर भागेको भन्दै दुःखेसो पोख्न आउँछन् । कानुन नै नभएपछि धेरैलाई मेलमिलाप गरेर पठाएको खड्काले जानकारी दिइन् । केहीले थोरै क्षतिपूर्ति दिएर आ–आफ्नो बाटो लागेको उनको भनाइ छ । 

लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रूपमा अघि बढिसकेको र त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको उपसभामुख पुष्पा भुसालको भनाइ छ । हामीसँग वैवाहिक र घरेलु कानुन छन् । त्यसलाई पनि यसले प्रभावित पारिरहेको भन्दै उनले भनिन्, ‘लिभिङ टुगेदरको बारेमा कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने सन्दर्भमा पनि यसलाई स्पष्ट रुपबाट कानुन बनाउन जरुरी छ ।’ 

लिभिङ टुगेदरको बारेमा सरकारले छिटो भन्दा छिटो एउटा स्पष्ट खाका कोरेर सदनमा छलफल गराउन आवश्यक छ । विवाहित पुरुषले बाहिर लिभिङ टुगेदरमा महिला राखेको भन्ने कुरालाई विद्यमान कानुनले सम्बोधन गर्दैन । तर विवाह नभइकन कोही सँगै बसेका छन् भने लिभिङ टुगेदर रजिस्ट्रेसन हुनुपर्ने उनले बताइन् । 

विदेशमा लिभिङको विषयमा स्पष्ट कानुन छ तर नेपालमा कानुनको अभाव हुँदा यस समस्यामा जो छ, उसले न्याय पाउने सम्भावना धेरै कम हुने समाजशास्त्री निर्मला ढकालको भनाइ छ । 

ढकाल भन्छिन्, ‘प्रेम हुञ्जेल त ठिकै हुन्छ । सम्बन्धमा खटपट सुरु भएपछि के गर्ने ?’ विश्व एक गाउँमा परिणत भइसकेको अवस्थामा अन्य देशमा के कस्ता चलन छन, जान्न सजिलो भएको उनको भनाइ छ । धेरै देशमा उमेर पुगेका मानिसहरू लिभिङमा बस्ने प्रचलन छ । ‘त्यही सिको गर्दै नेपालीहरु पनि लिभिङमा बस्छन्,’ उनले भनिन् । एक पक्षले अन्यायमा परेको महसुस गर्दा न्यायको लागि ढोका ढक्ढकाउने ठाउँ नै छैन, त्यसैले   पीडितले सहनुबाहेक अरु विकल्प नभएको उनले बताइन् । 

हाम्रो समाजको संरचना, संस्कृति अनुरूप लिभिङमा नबस्नु भनेर परामर्श दिनु उचित देखिने ढकालको जिकिर छ । तर आधुनिक समाज स्थापित हुँदै गर्दा यो सम्भव पनि नरहेको उनको बुझाइ छ । सरकारले स्वतः कानुन बनाउन नसकेर लिभिङमा नबस भनिरहेको छ । जुन अबको आधुनिक समाजमा करिब करिब असम्भव देखिन्छ । 

ढकालका अनुसार विवाहको विषयमा नयाँ पुस्ताको नयाँ अवधारणा छ । पहिले पार्टनरलाई राम्रोसँग चिनेर जानेर मात्र बिहे गर्ने निर्णय गर्ने पुस्ता निस्किँदै छ । लिभिङलाई गलत भनेर व्याख्या गर्नुभन्दा राज्यले कानुन बनाएर व्यवस्थित गर्नु उचित हुने ढकालले बताइन् । राज्यको दायित्व नागरिकलाई सहजीकरण गर्नु पनि हो । अन्तर्राष्ट्रिय संस्कृति अबलम्बन गर्दै गर्दा त्यही अनुरुपको कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले समेत सुझाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा सांसदहरूले पनि स्पष्ट कानुन बनाउनु पर्ने धारणा बारम्बार राख्दै आएका छन् । तर महिला पीडित हुने क्रम बढ्दो छ ।  रातोपाटी अनलाईनबाट

 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०८:३७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology