काठमाण्डौ, ३१ असार । नेपालमा पहिलो पटक आँप, लिचि र किवीका स्थानीय जात सूचीकृत भएका छन् । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार आँपका तीन स्थानीय जात दशहरी, माल्दह र आम्रपाली सूचीकृत भएको छ । लिचीको शाही, मु जफ्फरपुर, कलकत्तिया, रोज सेन्टेड, लेट सिडलेस र अर्ली सिडलेस गरि ६ स्थानीय जात सूचीकृत भएका छन् ।
यी सबै जात समुद्री सतहदेखि ६ सय मिटर उचाइँसम्मको क्षेत्रका लागि सिफारिस गरिएको केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले सीआईएनलाई जानकारी दिनुभयो ।
अहिलेसम्म ८० वटा बालीका ७ सय २३ जात सूचीकृत भएको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । बीउ बिजन ऐन २०४५ अनुसार नेपालमा सूचीकृत नभएका फलफूल, तरकारी, खाद्यान्न बालीको जातहरुको व्यवसायिक कारोबार गर्न नपाइने पनि केन्द्रले जनाएको छ ।