काठमाण्डौ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल आउन लाग्नुभएको हो ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुभएको थियो ।
नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।लिउले नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी र नेकपा एसका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ ।