अविनाश आचार्य, काठमाडौँ, २३ असार । नेपाल विद्यतु प्राधिकरणले विद्युतका तारहरूलाई जमिनमुनी बिछ्याउन सुरु गरेको दुई वर्ष चार महिना बितेको छ । यो अवधिमा काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रमा पर्ने क्षेत्रहरूमा ११ हजार र चार सय भोल्टको तार भूमिगत गरिएको छ भने दुई सय ५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइएको छ ।
अहिले रत्नपार्क र किर्तिपुर वितरण केन्द्र मातहतका क्षेत्रमा यो काम चलिरहेको छ । यो क्षेत्रमा पनि ११ हजार भोल्टेजको करिवदुई सय र चार सय भोल्टेजका चार सय किलोमिटर तार भूमिगत गरिनेछ ।दोस्रो चरणमा काठमाडौँका बाँकी स्थानहरूमा ११ हजार भोल्टेजको करिव २ सय ५० किलोमिटर र चार सय भोल्टेजको करिव २ सय ४० किलोमिटर तारलाइ भूमिगत गरिनेछ ।
समयमा नै काम भएको खण्डमा लक्ष्य अनुसार अबको दुई वर्ष भूमिगत गर्ने काम सकिने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौँमा समयमा नै तार भूमिगत गर्ने काम सकिए ललितपुर र भक्तपुरमा पनि तारलाई भूमिगत गर्ने प्रक्रिया सुरु हुनेछ । एसियाली विकास बैङ्कको सहयोगमा तारलाई भूमिगत गर्ने कार्य सम्पन्न गर्नको लागि चुनौती भने उत्तिकै रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
२०७६ फागनु ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा विद्युतीय तारहरू भुमिगत बनाउने कामको उद्घाटन गर्नुभएको थियो । सहरका सडकमा अव्यवस्थित रुपमा जेलिएका विद्युत तारहरू सर्ट हुँदा समय समयमा आगलागीका घटना हुने गरेका छन् ।