सजना तिमल्सिना, काठमाडौँ, १८ असार । एसइइ सकिएपछिको उच्च शिक्षा अध्ययन गर्न बालबालिकाको इच्छालाई प्राथमिकता दिनुपर्ने विज्ञहरूले बताएका छन् । पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल कुरेर बसेका छन् ।
उनीहरूलाई उच्च शिक्षा अध्ययनमा विषय छनोट गर्न अभिभावकले दबाब दिँदा पढाइ बीचमा नै छुट्ने जोखिम हुने शिक्षाविद् विद्यानाथ कोइरालाले बताउनुभयो । तथ्याङ्कअनुसार कक्षा ११ मा भर्ना भएका १० प्रतिशतले १२ कक्षाको परीक्षा दिँदैनन् । पढाई छाड्ने विद्यार्थीको कारण खोतल्दै जाँदा आफ्नो इच्छा विपरितको पढाई पनि कारण हुने गरेको पाईएको छ ।
विद्यार्थीलाई आफ्नो इच्छा र चाहना अनुसारको विषय पढ्न नदिँदा मनोवैज्ञानिक रूपमा नै असर पर्ने र पढाइमा राम्रो गर्न नसक्ने पाईएको मनोचिकित्सक भरत गोइतले बताउनुभयो । बालबालिकालाई मन परेको विषय वा कलेजमा भर्ना गरिदिँदा शिक्षाको गुणस्तर बढेको पाईएको छ ।