स्नेहा कर्ण, काठमाडौं, १४ असार । सर्पले टोकेपछि उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनोमको उत्पादन मुलुक भित्र नहुँदा करोडौँ रकम बाहिरिने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष १ हजारभन्दा बढी व्यक्तिको मृत्यु सर्पले टोकेर हुन्छ । कतिपय मानिसको स्वास्थ्य संस्था नपुग्दै मृत्यु हुने भएकाले सर्पको टोकाइका कारण ज्यान गुमाउनेको तथ्याङ्क सार्वजनिक गरिनेभन्दा धेरै हुने सरोकारवाला बताउँछन् । गर्मी मौसम सुरु भएसँगै तराईका जिल्लामा सर्पको जोखिम धेरै हुन्छ ।
यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्छ तर सर्पले टोकिहालेमा उपचारका लागि आवश्यक पर्ने एन्टिस्नेक भेनोम नेपालमा उत्पादन हुँदैन । यो औषधि बर्सेनि करिव २० हजार भाइल भारतबाट आयात गरिन्छ र यसैका लागि बर्सेनि झन्डै २ करोड रकम बाहिरिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ए
न्टिस्नेक भेनोम निर्यात बन्द गर्ने ८ वर्षअघिको भारतको घोषणा कार्यान्वय भए नेपालमा सर्पले डसेमा उपचार नपाउने अवस्था समेत आउनसक्ने मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
यसैका कारण सरकारले नेपालमै एन्टीस्नेक भेनोम उत्पादनमा प्रोत्साह गरे पनि प्रतिफल उत्साहजनक हुन सकेको छैन । नेपालमा ८० प्रकारकासर्पहरू पाइने गरेकामा २० प्रकारका सर्प विषालु हुन्छन् । नेपालमा हालसम्म मानिसका लागि प्रयोग हुने कुनैपनि प्रकारको खोप उत्पादन हुन सकेको छैन ।