स्नेहा कर्ण, काठमाडौं, ८ असार । स्थानीय सरकारले पर्सि आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याउने तयारीमा जुटेका छन् । विशेषगरी पालिका प्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिले महिलाको हरेक क्षेत्रमा विकास हुने गरी बजेट ल्याउने गरी तयारी गरिरहेका छन् ।
२०७९ वैशाख ३० मा सकिएको स्थानीय तह निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला पुगेका छन् । ती मध्ये अधिकांश पालिका प्रमुखहरूले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदा महिलाका विषयलाई संवेदनशील भएर कार्यक्रम समेट्ने तयारी गरिरहेका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाका लागि नीति बनाएर बजेटमा विभिन्न सिपमुलक तालिम ल्याउने तयारी गरिरहेको छ । नगर प्रमुख विमला राईका अनुसार महिलाहरूको क्षमता अभिवृद्धिका लागि सिप मुलक तालिम, व्यावसायिक, धार्मिक पर्यटनमा महिलाको सहभागिता बढाउने लगायतका कार्यक्रम बजेटमा समावेश गरिने छ ।
स्थानीय सरकारको पहिलो कार्यकालमा गरिएको अभ्यासको समीक्षा गर्दै बजेट ल्याउने योजना नयाँ जनप्रतिनिधिको छ । मकवानपुरको हेटौँडा उप महानगरकापालिकाका प्रमुख मीनाकुमारी लामाले महिलाको वृति विकासका लागि स्वास्थ्यको विषयमा संवेदनशिल भएर विभिन्न अस्पतालमा महिलाको सहज पहुँच हुने गरी कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
आर्थिक, सामाजीक, लैङ्गिक हरेक क्षेत्रमा आत्मनिर्भर र सक्षम बनाउन क्षमता विकासलाई ध्यानमा राखेर बजेट ल्याउने तयारी अधिकांश पालिकाको देखिन्छ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले महिलाको वृति विकासका लागि उनीहरूको क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउने गरी बजेटमा कार्यक्रम समावेश गरिने बताउनुभयो ।
स्थानीय तहको पहिलो कार्यकाल सम्हालेका जनप्रतिनिधिले महिलाका लागि सीपमुलक तालिमलाई मात्रै ध्यानमा राखेर कार्यक्रम ल्याउने गरेका थिए । तर, स्वास्थ्य र शिक्षामा पनि जोड दिएर कार्यक्रम ल्याउन जानकारहरू सुझाव दिन्छन् ।
महिलाका लागि कार्यक्रम ल्याउँदा तालिम मात्रै नभएर उनीहरूले उत्पादन गरेका वस्तुको बजारीकरण, मूल्य समाजोजन लगायतका काम पनि ध्यान दिनुपर्ने एकजना सङ्घीयता विज्ञ कल्याण रोक्काको भनाइ छ ।
सामाजिक परम्परा र बन्धनका कारण पनि महिलाहरूलाई काम गर्न पूरा सजिलो भइसकेको छैन । महिलाले जसरी, जति महिलाको समस्या बुझेर बजेट र कार्यक्रम ल्याउन सक्छन् त्यति पुरुष जनप्रतिनिधिले सोच्न सक्दैनन् भन्ने बुझाइ जानकारहरूको छ ।