अविनाश आचार्य, काठमाडौँ, ३ असार । प्रतिनिधि सभामा दफावार छलफल सकिएपछि विनियोजन विधेयक २०७९ बहुमतबाट पारित भएको छ । सांसदहरूले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएका छन् ।
१७ दिन भएका छलफलमध्ये पछिल्लो दिनको बहस अमेरिकाको राज्यस्तरको सहकार्य(एसपीपी) मा नेपाल सहभागी हुन लागेको विषयमा केन्द्रीत भएको थियो । तर रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले उक्त कार्यक्रममा नेपाल सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट ल्याउँदा अर्थमन्त्रीले मन्त्रालयभन्दा बाहिरका व्यक्ति समावेश गराएको र करको दरमा मनलाग्दी गराएको भन्दै संसदभित्रै आलोचना समेत भएको थियो ।
आफ्नो र मन्त्रालयको बारेमा उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मा रोष्टमतर्फ उक्लँदै गर्दा एमाले सांसदहरूले विरोध जनाउँदै बैठक कक्षबाट बाहिरिएका थिए । विरोधकाबीच जवाफ दिँदै अर्थमन्त्री शर्माले आरोप पुष्टि भएमा जिम्मा लिने बताउनुभएको थियो ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल भनिए पनि अर्थमन्त्रीमाथि लागेको आरोप र एसपीपी सम्झौताका बारेमा सत्ता समर्थक र विपक्षी दलहरू विभाजित भएर बहसमा उत्रिएका थए । गृहमन्त्री र अर्थमन्त्रीको जवाफपछि सडक, सदन र सार्वजनिक कार्यक्रममा हुँदै आएको यो बहस यसै सामसुम हुने भने देखिन्न ।