दिपक खत्री, सिन्धुपाल्चोक, २३ जेठ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन । चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्न मै व्यस्त रहेका छन् ।
अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरू भएसँगै यसपटक फेरि त्रासमा परेका छन् । जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नु अगावै सुरक्षित ठाउँमा जान चाहन्थे । तर, बस्ती स्थानान्तरणको काममा ढिलासुस्ती हुँदा यो वर्खामा फेरी मानवीय क्षति हुन सक्ने खतरा देखिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भुगर्वविद् सहित सिन्धुपाल्चोकका २ सय ५० बस्तीको अध्यन गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो । सिन्धुपाल्चोकका १२ बस्ती तत्कालै सार्नुपर्ने खालका छन् । बाँकी २० बस्ती असुरक्षित रहेका छन् ।
एकपछि अर्काे प्राकृतिक विपत्ति भोग्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ, तर सोही अनुसार काम हुन सकेको छैन । नागरिक जोखिमयुक्त बस्तीमा ज्यानको बाजी राखेर बस्न बाध्य रहेका छन् ।
बाह्रविसे, मेलम्ची नगरपालिका, भोटेकोशी, जुगल, पाँचपोखरी थाङपाल र हेलम्बु गाँउपालिका पहिरो र बाढीका हिसाबले अत्यधिक जोखिममा छन् । नागरिक चिरा र धजा फाटेको जमिनमा जीवन बचाउन याचना गर्दै बसेका छन्, तर विपद ब्यवस्थापन प्राधिकरणबाट विपद व्यवस्थापनको क्षेत्रमा काम गर्नलाई आएको ३४ करोड रकम काम गर्न नसकेर यहि आर्थिक वर्षमा अर्थ मन्त्रालयमा फिर्ता भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बेध निधि खानाल जनशक्ति नहुदा सोचेजस्तो काम गर्न नसकेको बताउनुहुन्छ । २०७१ सालको जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ति हालसम्म पनि रोकिएको छैन । ६ वर्षदेखि भएको लगातारको प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै ३७ सय ९० को मृत्यु भइसकेको छ ।
अझै पनि ३७जनाको अवस्था अज्ञात रहेको छ । प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै अर्बौको क्षती भइसकेको छ । यसपटकको मनसुनबाट हुन सक्ने क्षति कम गर्न सिन्धुपाल्चोकमा तयारी भएको देखिँदैन ।