चितवन, १७ जेठ । श्रीमानको यातनाबाट सख्त घाइते भएकी खैरहनी–१० की गीता माझीलाई राप्ती पत्रकार मञ्चले आर्थिक सहयोग गरेको छ। मञ्चले सोमबार नगद दश हजार ९५० रूपैयाँ आर्थिक सहयोग गरेको हो।
मञ्चका अध्यक्ष राजनदिल गुरूङ, सचिव सुरोज बराकोटी र कोषाध्यक्ष सुजा गौतमलगायतको टोलीले ओसीएमसीका फोकल पर्सन हीरा सुवेदीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।
खैरहनी नगरपालिका–१० मुसहर बस्तीका रामचन्द्र माझीले गत बिहीबार साँझ श्रीमती गीतालाई कोठामा बन्धक बनाइ मलद्वारबाट लौरो घुसाएर सख्त घाइते गराएका थिए। लोग्नेले यातनाबाट गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ।
उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। उपचारपछि पनि गीतालाई दिसा–पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्यालगायतका स्वास्थ्य जटिलता रहन सक्ने चिकित्सकको भनाइ छ।
हिंसाबाट प्रभावित महिला सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)ले गीताको निःशुल्क उपचार गरिरहेको छ। उपचारको लागि निःशुल्क भए पनि बिरामीको स्वास्थ्यको लागि पौष्टिक आहार चाहिने हुँदा त्यसैको लागि रकम सहयोग गरिएको मञ्चका अध्यक्ष गुरूङले जानकारी दिए।