काठमाण्डौ, १३ जेठ । जलवायु परिवर्तन र कृषिका विज्ञहरूले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा देखिएको समस्या र यसका समाधानका उपायहरूका बारेमा किसानलाइ पर्याप्त रूपमा जानकारी दिनुपर्ने बताएका छन् । किसानले गरेको दुःख अनुसारको उत्पादन नभइरहेको अवस्थामा किसानलाइ यसको बारेमा पर्याप्त सूचना र जानकारी दिनको लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।
आज सामुदायिक सुचना नेटवर्क सीआईएनको १३ औ बार्षिक उत्सवको अवसरमा आयोजित जलवायु परिवर्तन र कृषि बिषयक कार्यक्रममा जलवायु परिवर्तनका विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तनको प्रकोप र यसको असरका कारण खेतीयोग्य जमिनमा असर परिरहेको तथा कृषि उत्पादन पनि घटिरहेको बताउनुभयो ।
लगाईएका कृषि बालीमा पनि कतै उत्पादन घट्ने, कतै बढ्ने जस्ता असर देखिएको जानकारी दिदै उहाँले नेपालमा जटिल र बिबिध भूगोलका कारण पनि जलवायु परिवर्तनको असर न्युनिकरणमा एकै किसिमको उपायले काम नगर्ने भएकाले यसको समाधानको दीर्घकालिन सोँच आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै अर्का जलवायु परिवर्तनका विज्ञ डा. उत्तम बाबु श्रेष्ठले जलवायु परिवर्तनको असरले नयाँ नयाँ रोग किराको प्रकोप देखिएको र त्यसको प्रभाव कृषि उत्पादनमा परेको बताउनुभयो ।
यसैगरि जलवायु परिवर्तनको असरका कारण कृषिमा असर पार्ने किसिमका झारहरूको प्रकोप पनि बढेको तथा हिमाली खर्कहरूमा समेत असर देखिएकाले त्यसले समग्रमा कृषि उत्पादनमा प्रभाब पारेको बताउनुभयो ।
यस्तै कृषिका विज्ञ तेज बहादुर सुवेदीले जलवायु परिवर्तनको असरले पारेको प्रभाव कम गर्न किसानलाइ सचेत बनाउनुपर्ने तथा उत्पादनमा पुगेको क्षती कम गर्न कृषि बीमालाइ प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । मुख्य गरि मौसम र जलवायु परिवर्तनको तत्कालै देखिने असरका बारेमा किसानलाइ छिटो भन्दा छिटो सुचना प्रदान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले यसको लागि प्रबिधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
खाद्यका लागि कृषि अभियान्ता कृष्ण पौडेलले खाद्य प्रणालीमा जलवायु परिवर्तनको बिषयले पारेको प्रभावका बारेमा सरकारले कम चासो दिएको भन्दै यसको लागि समय, लगानी र बजेट बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कृषि बिभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषिमा जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्दै किसानलाइ सचेत बनाइ उत्पादन समेत बढाउदै जानु चुनौतीपूर्ण बिषय भएको भएपनि सरकारले काम गरिरहेको बताउनुभयो ।
कृषि अनुसन्धानन परिषदसँग सहकार्य गरेर जलवायु परिवर्तन अनुकुलन हुने किसिमका बीउ, तरकारी तथा फलफूलका बारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । सीआईएनका म्यानेजर दिपक आचार्यले सीआईएनले नागरिकका हरेक मुद्धामा स्थापनाकालदेखि नै निरन्तर आवाज उठाइरहेको र अबको दिनमा पनि सामुदायिक र उत्तरदायि पत्रकारितालाइ निरन्तरता दिइरहने बताउनुभयो ।
अकोराबका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले सामुदायिक रेडियोले यसअघि पनि यसबारेमा सुचना जानकारी र कार्यक्रम प्रसारण गरिरहेको र अब आगामी दिनमा पनि यसलाइ निरन्तरता दिने बताउनुभयो ।