काठमाण्डौ, १२ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २० वर्ष मुनिको राष्ट्रिय पुरुष टिमका लागि खेलाडी छनोट गर्ने भएको छ । एन्फाले साफ २० वर्ष मुनिको च्याम्पियनसिप र एएफसी २० वर्ष मुनिको एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने भएको हो ।
एन्फाले सदस्य जिल्ला र क्लबलाई छनोटमा खेलाडी पठाउन पत्र पठाईसकेको छ । एन्फाले २०५९ साल पुस १७ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ । एन्फाले बिहीबार मेघराज केसीलाई नेपाली २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । साफ २० वर्ष मुनिको च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलङ्का र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वर स्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ । त्यस्तै एएफसी २० वर्ष मुनिको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।