काठमाण्डौ, १२ जेठ निजी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) का आयोजक र ६ टोलीले नेपाल क्रिकेट सङ्घ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएको छ । इपीएलले आज एक विज्ञप्ति निकाल्दै अन्तरिम आदेशको मागगर्दै क्यान विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको जनाएको छ ।
क्यानले नेपाल टी–ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफूहरूको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै न्यायका लागि अदालतमा मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्यानको मङ्गलवार बसेको बोर्ड बैठकले नेपाल आयोजना हुने फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो । क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज नेपाल टी–ट्वान्टी लिग गर्ने भएको कारण अन्य लिगलाई मान्यता नदिने जनाएको थियो ।
नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) सञ्चालन हुँदै आएको छ ।