स्नेहा कर्ण, काठमाडौँ, ११ जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका लागि खासै ठूलो र नयाँ योजना समेटेको छैन । पछिल्लो दुई वर्षदेखि कोरोना महामारीमै केन्द्रीत नीति तथा कार्यक्रम यसवर्ष भने मिश्रित रुपमा आएको छ ।
अघिल्लो वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारीविरुद्ध लड्नका लागि चाहिने आवश्यक पूर्वाधार र खोपको विषय बढी प्राथमिकतामा थियो । तर, यस वर्ष ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने राष्ट्रपपति विद्यादेवी भण्डारीले बताउनुभयो ।
सबै अस्पतालमा बिरामीको तथ्याङ्क राख्नका लागि एकीकृत सूचना प्रणाली जडान गर्ने, अस्पतालमा बिरामीको मृत्यु भएमा त्यसको लेखा परीक्षण गर्ने नयाँ विषय सरकारले समेटेको छ । प्रदेशको सहभागितामा सबै प्रदेशमा रक्त सञ्चार केन्द्रको स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । विज्ञहरूले भने सार्वजनिक नीति तथा कार्यक्रममा नयाँ विषय नभएको बताएका छन् ।
नागरिकको स्वास्थ्य सेवा सहज बनाउनेभन्दा पनि मिश्रित कार्यक्रम ल्याइएको एकजना स्वास्थ्य विद डा.जनक कोइरालाले बताउनुभयो । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रले खासै प्राथमिकता नपाएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार भएकै कार्यक्रमलाई निरन्तरता दिने बारेमा नीति तथा कार्यक्रमले बढी जोड दिएको छ ।