स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ मा यसको व्यवस्था छ । आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ ।
कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दावी गर्न पाउँछ । ‘मतदान अधिकृतले निज वास्तविक मतदाता हो होइन भन्ने कुरा बुझ्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘दाबीकर्ता वास्तविक मतदाता हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले सो कुरा जनाई अभिलेख राखी निर्णय गरी त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिनु पर्नेछ ।’
मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।
त्यस्तो मतपत्र मतगणना गर्दा गणना गरिंदैन । तर निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्नको आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।







