काठमाडौं, १२ बैशाख । ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरूप प्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित गरिएको छ, मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ,’ मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरू महतलाई गत १ वैशाखमा विभूषण प्रदान गर्दा ‘विभूषण अधिकारपत्र’मा लेखिएको विवरण हो यो । तर, उनले ११ दिन पनि मानपदवीको गरिमा राख्न सकिनन् । सेवाग्राहीलाई दुःख दिएर घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आइतबार रंगेहात पक्राउ गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले जिल्ला सदरमुकाम फुङलिङबाट उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता गर्ने कामका लागि मालपोत अधिकृत महतले घुस मागेकी थिइन् । पीडितले आयोगको केन्द्रीय कार्यालयमा उजुरी गरी घुससहित पक्राउ गराएकी हुन् । सेवाग्राहीसँग घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।