Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको काउलेमा बिजुली आएसँगै विकास पनि आउने स्थानीयको आशा

इच्छाकामनाको काउलेमा बिजुली आएसँगै विकास पनि आउने स्थानीयको आशा

इच्छाकामना न्युज

१६, चैत्र २०७८
इच्छाकामनाको काउलेमा बिजुली आएसँगै विकास पनि आउने स्थानीयको आशा
images

प्रतिमा कुमाल, चितवन, १६ चैत । चितवन सुगम जिल्लाको रुपमा परिचित छ । २१ औं शताब्दीको संस्कार संस्कृतिमा दौडिरहेको चितवनको इच्छाकामना गाउँपालिका भने अझै विकट नै छ । त्यहाँका धेरै मानिसहरुले बिजुली, मोबाइल, नेट, इन्टरनेट चलाएका छैनन् । टेलिभिजन कस्तो हुन्छ भन्ने दूरदराजका मानिसलाई थाहा नै छैन । यस्तोमा गाउँपालिकाको वडा नम्बर २ तल्लो र माथिल्लो काउलेमा पहिलो पटक बिजुली पुगेको छ ।

images
images

बिजुली आएसँगै विकास पनि आउने स्थानीय जानुका राना मगरमा आशा पलाएको छ । ‘बिजुली आएपछि तेल किन्न परेन । खर्च कम भयो । कुटाउने पिसाउने मिल पनि बनेको छ । लाइन आएपछि सुविधा पाउने आशा छ,’ उनको भनाइ छ ।

अहिले त्यहाँका बासिन्दाले सोलारबाट आफ्नो दैनिकी चलाइरहेका छन् । तर, अझै टुकी बत्ती हराएको छैन । छोराछोरीको पठन–पाठनमा गरेको प्रयास विकास बनेर फर्किएको मगरको भनाइ छ । उनले भने, ‘हामी पढे–लेखेका छैनौं । घास–दाउरा गरेर बसेको मान्छे हौं, हामी त । विद्युत् कस्तो ठाउँमा भन्न गए पाइन्छ । के बोल्नु पर्छ थाहा थिएन । हामीले नपढे पनि बच्चाहरुलाई पढाएऔं । छोराहरु पढे पछि पहल गरेछन् । उनीहरुले विकास गरेको छ । अहिले मोटर बाटो पनि आएको छ । त्यसपछि बिजुली पनि आयो ।’

टुकी बत्ती बाल्दा आगलागी पनि हुने गरेको उनले दुःख पोखे । आफूहरुलाई यस्तो दुःख नपरे पनि चेपाङ बस्तीमा आगोले क्षति पु¥याइरहेको उनले बताए । जनप्रिय माध्यमिक विद्यालय काउलेका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले बिजुलीले नयाँ युगमा प्रवेश गरेको अनुभुति भएको जीकिर गरेका छन् । ‘काउलेमा धेरै पछाडि विद्युत्को बिस्तार भयो । यो भन्दा पहिला यहाँ धेरै समस्या भोगेऔं । कहाली लाग्दो अवस्था वर्णन गरेर साध्य नै छैन । पढ्न, साँझको खाना खान, काम गर्न टुकी बालेर काम चलाएऔं । नाकभरी धुवाका कारण कालो जम्थ्यो । त्यस्ता धेरै दुःख काटिसके पछि सामान्य किसिमको सोलार सिस्टमहरु आयो । अहिले पनि त्यहीबाट मात्रै जीवन चलिरहेछ । पुरानै युगमा हामी चलिरहेको अवस्था छ । यस्ता धेरै समस्यालाई अब विद्युत् विस्तारले विस्थापित गर्छ भन्ने आशा छ,’ उनको भनाइ छ ।

गाउँमा बिजुली भित्रेसँगै शिक्षा क्षेत्र र प्राविधिक विकास हुने प्रधानाध्यापक अधिकारीको विश्वास छ । कृषि उत्पादनमा राम्रो फड्को मारिहेको काउलेका किसानले फलफूल तरकारी बिग्रने समस्याबाट छुटुकारा पाउने उनले बताए । ‘कुटानी पिसानी गर्ने मिल चलाउनेदेखि लिएर यहाँ कृषि पनि हुन्छ । बजार नपाएको अवस्थामा समस्या थियो । अब त्यसलाई स्टोर गर्न सक्ने र प्रविधिले विकास भएका यन्त्रहरुलाई प्रयोग गर्न पाउने छौँ ।’ अधिकारीले अब टेलिभिजन हेर्न पाहिएला भन्ने नै यहाँका सबैलाई चाखको विषय भएको बताए ।

सोही वडा कोटारी गाउँकी फूलमाया चेपाङले चेपाङ बस्ती भने अन्धकारमै रहने गुनासो गरेकी छन् । डाँडा वारिपारि रहेको यो दुई गाउँमा काउले उज्यालो हँुदा कोटारी गाउँ अन्धकारमै रहने बताएकी हुन् । स्थानीय होमकुमार बुढाथोकीले गाउँपालिकाको अझै थुप्रै ठाउँमा बाटो र विद्युत्को विकास हुन बाँकी रहेको बताए । इच्छाकामनाको सबै वडामा समावेशी तरिकाले विकास गर्नुपर्ने उनले धारणा राखे । कतै उज्यालो कतै अध्यारो हुने खालको विकास चित्त बुझ्दो नभएको उनले जीकिर गरे ।

समाजसेवी तथा यूवा नेता सगुन रानामगरको पहलमा स्थानीय चुनाव नजिकिँदै गर्दा काउलेमा विद्युत् पुगेको हो । स्थानीय मगरले युवाले चाहे आफ्नो टोल गाउँ विकास गर्न खासै गाहे नभएको बताए । चुनाव लाग्दै २ नम्बर वडाको सबै क्षेत्रमा बिजुली बत्ती बाल्ने प्रयासमा रहेकोे बताए ।
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिताकुमारी गुरुङले गाउँपालिकाको ७ वटै वडालाई विद्युतीकरणले छोएको बताएकी छन् । जोड्न बाँकी रहेको ठाउँहरुमा प्रक्रिया अगाडि बढाएको जानकारी उनले दिइन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले समन्वय हुन नसक्नु विकासको बाधक भएको बताएका छन् । उनले स्थानीय सगुन राना मगर र समन्वयकर्ता धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेलाई धन्यवाद दिएका छन् । समन्वय र प्रयासका कारण काउलेमा विद्युत लाइन ल्याउन सफल भएको उनको भनाइ छ ।

भरतपुरबाट विद्युत पु¥याउन टाडा पर्ने र खर्च बढी लाग्ने हुदा धादिङबाट बिजुली लगिएको हो । धादिङका प्रमुख न्यौपानेले ट्रान्समिटर जडान भएपछि माथिल्लो र तल्लो काउलेको हरेक घरमा बिजुली बल्ने बताए । एक हप्तासम्म लाग्न सक्ने उनले बताए । विकाससँगै त्यसले जोखिम पनि ल्याउने हुदा सतर्क भएर बिजुली प्रयोग गर्न आग्रह गरेका छन् । गैरकानुनी कार्यमा विद्युत्को प्रयोग नगर्न उनले सम्पूर्ण गाउँबासीलाई आग्रह गरेका छन् । काउलेसम्म बिजुली पु¥याउन १२७ विद्युतीय पोलको प्रयोग गरिएको छ । करिब डेढ करोड खर्च लागेको प्राधिकरणले जानकारी दिएको छ । यो आयोजनाबाट पहिलो चरणमा ८० घर लाभान्वित भएका छन् । नारायणी अनलाइनबाट

 

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १८:२३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology