कुरिनटार, २७ माघ । चितवनको इच्छाकामना गाउँपालिकाका २२५२ जना विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको छ। कोरोना विरुद्धको खोप अभियान अन्तर्गत गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई मोडर्ना खोपको पहिलो मात्रा लगाईएको हो।
सोमबार देखि बुधबारसम्म ३ दिन अभियान नै चलाएर विद्यार्थीहरुलाई खोप लगाईएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक हरि देवकोटाले जानकारी दिए। उनले दिएको जानकारी अनुसार ११६३ जना छात्रा र १०८९ छात्रलाई मोर्डना खोप लगाईएको हो।
गाउँपालिकाले फागुन १ गतेदेखि गाउँपालिका भित्रका विद्यालयहरु खोल्ने तयारी गरिरहेको छ त्यसभन्दा अघि सबै विद्यार्थीहरुलाई खोप लगाईसक्ने गरि अभियान चालिएको हो।