कुरिनटार, १० माघ । गाउँपालिकाकै संरक्षणमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं. २ मा पर्ने वल्र्याङ्गमा रहेको रिग्दीखोला दोभान दोहन गरिएको वडाध्यक्ष पंच बहादुर चेपाङले आरोप लगाएको छ। कुरिनटारमा आज एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि संचारकर्मीहरुको सामु उनले यस्तो बताएको हो।
पत्रकारहरुसँग कुराकानी गर्दै गाउँपालिकाले संरक्षण दिएकै कारण स्थानीय उत्तर गुरुङ, पूर्ण बहादुर गुरुङ र कुमार गुरुङले जथाभावी रिग्दीखोला किनार दोहन गरी ढुङ्गा, गिट्टि, वालुवा निकाल्न थालेको वडाध्यक्षले बताए।
वडाध्यक्ष चेपाङका अनुसार यो क्रम विगत ३ वर्षदेखि चल्दै आएको र यो वर्षपनि हिजो आईतबारदेखि २ वटा जेसिबि र १० ट्रिपर लगाएर खोलाबाट जथाभावी ढुङ्गा, गिट्टि, वालुवा निकाल्न थालेका छन्।
यसरी खोलाबाट जथाभावी ढुङ्गा, गिट्टि, वालुवा निकालिदा स्थानीयहरुको जग्गालाई समेत क्षति पुगेको उनले बताए साथै उनीहरुले उक्त नदीजन्य सामाग्री निकाल्दा कुनै पनि राजश्व तिर्ने नगरेको पनि वडाध्यक्षले बताए ।
गाउँपालिकाकै आडमा अबैध उत्खनन् भइरहेकोले आफुले रोक्न नसकेको पनि उनले स्वीकार गरेका छन् । आफुले रोक्न खोज्दा वडासंग कुनै सरोकार छैन गाउँपालिकाले अनुमति दिएको हो भनेर उल्टै आफुहरुमाथि आक्रोश पोख्ने गरेको बताए । उनले भने हामीले रोक्न खोज्यौँ तर स्थानीय उत्तर गुरुङ लगायतले वडाको अधिकार छैन गाउँपालिकासंग समन्वय गरेर उत्खनन् गरेको हो भन्दै थर्काउने गर्छन् । ’
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङलाई यस विषयमा जानकारी गराउँदा कुनै सुनुवाई नभएको उनले बताए । एक पटक उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रोक्न भने पछि आफुले रोक्न प्रयास गर्दा वडाको अधिकार छैन भन्दै उत्खनन्मा संलग्नहरुले धम्की दिएको उनको भनाई छ । उत्खनन् भएको स्थलमा अध्यक्ष उपाध्यक्ष धेरै पटक पुगेको र थाहा हुँदा पनि नभए जस्तो गरेको उनको आरोप छ ।
यता अध्यक्ष गीता कुमारी गुरुङले भने अहिले सम्म वडाध्यक्षले जानकारी नै नगराएको बताइन् । गाउँपालिकाले उत्खनन्का लागि कसैलाई अनुमति नदिएको उनले बताईन् । राष्ट्रिय गौरवको योजना एडिबिले निर्माण गरिरहेको शक्तिखोर–फिस्लिङ सडकका लागि ढुंगा गिट्टी बालुवा आवश्यक पर्ने भएकाले माग बमोजिम उपलब्ध गराउनका लागि कार्यपालिका बैठक बसी निर्णय गर्ने उनको भनाई छ । त्यसको लागि स्थलगत थप अध्ययन गरि वातावरणीय प्रभाव मुल्याङ्कन पश्चात मात्र निर्णय गर्न सकिने उनले बताइन् ।
वडाध्यक्ष चेपाङका अनुसार उत्तर गुरुङ लागयतले निर्माणधिन सडकको पेटी ठेकदारको रुपमा काम गर्छन् । उनिहरुले सो सडकमा अबैध रुपमा उत्खनन् गरि ढुंगा ढुंगा गिटी बालुवा प्रयोग गर्दे आएका छन् । गाउँपालिकाको अनुमती छ भन्दै वडाको अधिकार छैन भनी धम्क्याउने गर्छनन् ।
तस्विरः सांकेतिक