आँबुखैरेनी, १९ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका ६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा पहिलो पटक नेपाल टेलिकमको मोबाईल सेवा सुरु भएको छ। यो सँगै हिलेखर्कमा लामो समयदेखि मोबाईल नेटवर्क नहुदाँ सञ्चार सम्पर्कका लागि परेको समस्याको समाधान भएको छ।
टेलिकमले आजदेखि हिलेखर्कमा निर्मित मोबाईल टावरबाट टु जि नेटवर्कको सेवा सुरु गरेको त्यहाँबाट स्थानीय चन्द्रप्रकाश गुरुङले जानकारी दिए। उनका अनुसार अब हिलेखर्क र आसपासका गाउँहरुमा मोबाईल सम्पर्कका लागि स्थानीयलाई सहज हुने भएको छ।
आँबुखैरेनीको चर्चित पर्यटकीय गाउँ भएपनि हिलेखर्कमा मोबाईल नेटवर्कको समस्या अत्यधिक थियो । उक्त गाउँमा कुनै पनि मोबाईल सेवा प्रादायकको नेटवर्क टिप्न कठिन थियो । जसका कारण गाउँमा आउने पर्यटकहरुलाई सम्पर्कको लागि असहज रहेको थियो।
‘नेपाल टेलिकमको सेवा सुरु भएपछि हामीलाई खुशी लागेको छ, अब गाउँमा पर्यटक आउन र सम्पर्क गर्न धेरै सहज हुने भयो’ –उनले भने। मोबाईल नेटवर्क सहज भएसँगै सम्पर्क बढाएर पर्यटक आगमनलाई समेत वृद्वि गर्न सकिने उनले बताए।
हाल हिलेखर्कमा केहि महिना अघिदेखि वर्डलिंकको फाईबर नेट समेत पुगेको छ।
यस्तै नेपाल टेलिकमको सेवा विस्तारका लागि आँबुखैरेनी गाउँपालिकाले आवश्यक सहजिकरण गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले टेलिकमको टावर संचालनका लागि आवश्यक सामाग्री राख्न सानो कोठाको निर्माण गरिदिएको छ।