आँबुखैरेनी, २३ असार । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–डुम्रे खण्डको मार्किचोकमा स्थानीयले गरेको अवरुद्ध सडक २ घण्टा पछी सुचारु भएको छ । तनहुँको आँबुखैरेनी–२, एक्लेफाँटमा हिजो भएको सवारी दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, न्याय र दोषिलाई कारबाहीको माग गर्दै स्थानीयबासिले मार्किचोकमा ५ बजे देखि बेलुका ७ बजे सम्म सडक अवरुद्ध गरेका थिए।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापा र पीडितपक्षबिच भएको छलफलमा ठक्कर दिने ट्रकका साहुलाई भोलि बिहान १० बजे सम्ममा झिकाउने, उचित क्षतिपूर्ति, न्याय र दोषिलाई कारबाहीको दाउरामा ल्याउने प्रतिबद्धता सहित अवरुद्ध सडक खुलाइएको छ ।
मंगलबार डुम्रेबाट आँबुखैरनी तर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाईकल फरक दिशा तर्फ गैरहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडी ठोकिएर पुनः आँबुखैरेनीतर्फ गैरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो । घटनामा एक्लेफाँटकै ३१ वर्षका दुर्गा भुजेलको घटनास्थलमा नै मृत्यु भएको र मोटरसाईकलमा पछाडी सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएका थिए ।