इच्छाकामना, १ असार । चितवनका संघीय सांसद कृष्णभक्त पाखरेलको पहलामा जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा संघीय सरकारको १० वटा योजनाहरुमा २७ करोड भन्दा बढि बजेट परेको छ। उक्त बजेट आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि चितवन २ नं क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहलाई सिधै आउने अनुदान बाहेकका योजनाहरुमा परेको हो।
सांसद पोखरेलका अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भोर्ले दाहाखानी रणनीतिक सड़कका लागि २५ करोड, कालिका नगरपालिका ८ को गैरावारी देखि इच्छाकामना गाउँपालिका ७ को उप्रदाङगढीसम्म आउने सडकको लागि २४ लाख रुपैयाँ छुट्याइएको छ भने वडा नं. ७ स्थित थानखोलामा पुल निर्माणका लागि ४७ लाख ५० हजार रुपैयाँ, काली खोला र रिग्दिखोलामा पुल निर्माणका लागि १०÷१० लाख रुपैयाँ विनियोजन भएका छन्।
त्यसैगरी संघीय सरकारअन्तर्गतको पर्यटन संस्कृति मन्त्रालय मार्फत वडा नं. ६ स्थित जलविरेको लामो झरनाका लागि १० लाख रुपैयाँ बजेट आएका छन्।
त्यस्तै, संघीय मामिला मन्त्रालय अन्तर्गत तराई मधेस समृद्ध कार्यक्रम मार्फत मुग्लिन तामिन सडक निर्माणलाई २५ लाख रुपैयाँ, कालिखोला आधामारा सडक निर्माणलाई २५ लाख रुपैयाँ विनियोजित भएका छन् ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत इच्छाकामना गाउँपालिका–७ स्याग्दी खोला तटबन्धनका लागि ३३ लाख रुपैयाँ, इच्छाकामना–६ चनौटे सेती खोला तटबन्धन ३३ लाख रुपैयाँ रहेका छन् ।
आयोजनाको संख्या र विनियोजित बजेट हेर्दा यस वर्ष गत साल भन्दा धेरै योजनाहरु सांसद पोखरेलको क्षेत्रमा परेको देखिन्छ । सांसद पोखरेलले आफ्नो क्षेत्रको नागरिकको माग अनुसार ती आयोजनामा सरकारले बजेट बिनियोजन गरेको बताए ।
उनले भने, ‘ अझै पनि कतिपय कार्यक्रम र आयोजनाहरु छुटेका छन् । मन्त्रालयमा टाइपिस्टले जे जे टाइप ग¥यो तीनै आयोजना राखिएको छ । कतिपय हटेका छन् भने कतिपयमा एकदमै कम बजेट छन् । आयोजनाहरुको अन्तिम सूची नदेखाइने भएकोले कतिपय आयोजनाहरुमा बिनियोजित रकम अपर्याप्त छ ।’
उनले सबै ठाउँमा न्यायोचित ढंगले योजना छनोट गर्न नपाउँदा सबै ठाउँमा न्याय पुग्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग क्षमा पनि मागेका छन् ।