Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनका अधिकांश कोरोना संक्रमितः भोजभतेरमा सहभागी, विवाह, ब्रतबन्धबाट फर्केपछि संक्रमण

चितवनका अधिकांश कोरोना संक्रमितः भोजभतेरमा सहभागी, विवाह, ब्रतबन्धबाट फर्केपछि संक्रमण

रासस

२३, बैशाख २०७८
चितवनका अधिकांश कोरोना संक्रमितः भोजभतेरमा सहभागी, विवाह, ब्रतबन्धबाट फर्केपछि संक्रमण

नारायण अधिकारी, चितवन, २३ वैशाख । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् ।

images

गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन ४ देखि यही वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी सङ्क्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीतागञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट सङ्क्रमितलाई फोन गरिरहेका छन् । दैनिक ५० जना हाराहारीलाई फोन गर्दा अधिकांशले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू सङ्क्रमित भएको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष धेरैले अस्पताल आएर फर्किएपछि सङ्क्रमण भएको भन्थे, यस वर्ष भोजभतेरमा गएपछि सङ्क्रमण भएको भनेका छन् ।” टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उहाँको भनाइ थियो ।

वैशाखयता मात्रै जिल्लामा एक हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । पछिल्ला दिनमा दैनिक २०० भन्दा बढी सङ्क्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड–१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि सङ्क्रमणमा परेको बताएको जानकारी दिनुभयो ।

कतिपयले जिल्ला बाहिर गएर आएपछि सङ्क्रमणमा परेको पनि जनाएको उहाँले बताउनुभयो । भट्टले भन्नुभयो, “अधिकांश भोजभतेरबाटै सङ्क्रमण फैलिएको पाइयो ।” महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर सङ्क्रमितसँग सम्पर्क गरिरहेको छ । दुई दिनदेखि महानगरले सम्पर्क कार्य थालेको हो ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले विवाह, व्रतबन्ध, पूजापाठसँगै दलका कार्यक्रम पनि सङ्क्रमण समुदायमा पु¥याउनमा जिम्मेवार रहेको देखिएको बताउनुभयो । उहाँका अनुसार सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेकै कारण यो अवस्था आएको हो । विवाहको लगन अघि सत्तापक्ष र विपक्षी सबै दलले आआफ्नो शक्ति प्रदर्शन गरेर देशैभर सभासम्मेलन गरेका थिए । ती कार्यक्रम पनि समुदायमा कोरोना पु¥याउन सहयोगी बनेको फिजिसियनसमेत रहनुभएका डा अधिकारीको बुझाइ छ । आम सर्वसाधारणले कोरोनालाई हल्का रूपमा लिँदा यो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी गएको फागुनदेखि नै सन्देश प्रवाह गरेर भोजभतेर, सभासम्मेलनमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको भए पनि अटेर गरिएका कारण सङ्क्रमण धेरै फैलिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पच्चीस जनालाई भन्दा मानिसले विभिन्न अर्थमा व्याख्या गरे, अहिले यो अवस्था सिर्जना भयो ।”

विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक–फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका थिए । गत वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गरेको तिवारीको भनाइ छ ।

पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए । जुन आज कोरोना फैलाउने माध्यम बनेको विज्ञहरु बताउँछन् । सङ्क्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेको पाइन्छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २१:५५:०७ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology