शनिबार बिहान ब्युरोको टोली श्रेष्ठको नख्खुस्थित निवासमा पुगेको थियो। ब्युरोका एक उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध निवेदन परेकाले छलफलका लागि बोलाइएको हो।
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिनुभएकाे थियाे। श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिनुभएकाे हाे।
ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरिएको छ।
यसअघि गत साउन २७ गते काठमाडौं प्रहरी परिसरले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उहाँको निवासबाट ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।
त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि उहाँ भदौ १ गते हिरासतमुक्त हुनुभएकाे थियाे।