चितवन। नेपालमा मौरीपालनको प्रचुर सम्भावना भए पनि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, रोग तथा परजीवीको सङ्क्रमण र साना खपटेको प्रकोपले व्यवसायमा चुनौती थपिएको छ।
मौरीपालन विकास केन्द्र, भण्डाराका प्रमुख सुजन अमगाईंका अनुसार मौसम परिवर्तन र चरन क्षेत्रको अभावका कारण मौरीपालक किसान प्रभावित भएका छन्। यस वर्ष चितवनमा अत्यधिक वर्षा र बाढीका कारण करिब एक हजार मौरीका घारमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो।
वरिष्ठ मह क्षेत्र विकास विज्ञ सुरेन्द्रराज जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा दुई लाख ७६ हजार घारबाट चार हजार २७८ टन मह उत्पादन भएको छ। नेपालमा अझै मौरीपालन विस्तारको ठूलो सम्भावना रहेको उहाँको भनाइ छ।
विशेषज्ञहरूले व्यावसायिक मौरीपालनसँगै खागो, भीर र पुत्का जस्ता जङ्गली मौरीको प्राकृतिक बासस्थान तथा चरन क्षेत्र संरक्षणमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। अव्यवस्थित मह सिकारले जङ्गली मौरीको गोला तथा चाका नष्ट हुने भएकाले प्राकृतिक बासस्थान संरक्षण आवश्यक रहेको उनीहरूको भनाइ छ।
चरन क्षेत्र विस्तार, गुणस्तरीय मह उत्पादन, आकर्षक प्याकेजिङ तथा बजार प्रवर्द्धनमा ध्यान दिन सके मौरीपालनबाट किसानको आम्दानी बढाउनुका साथै कृषि उत्पादन र जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने विज्ञहरूको भनाइ छ।