नुवाकोट। भोटेकोशी नदीबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा रहेको पुल बगाएपछि अवरुद्ध बनेको त्रिदेशीय सडकमार्ग सुचारु गर्न बेलिब्रिज निर्माण कार्य धमाधम भइरहेको छ। एक सातादेखि निरन्तर जारी बेलिब्रिज निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ।
बाढीले त्रिदेशीय सडकमार्गअन्तर्गत रहेको वीरगञ्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकखण्डको बीचमा पर्ने देवीघाटस्थित तादी खोलामा दुईवटा पुल बगाएपछि आवतजावत सुचारु गर्न नेपाली सेनाले बेलिब्रिज निर्माण गरिरहेको हो। ‘विपत्तिले भत्कायो, पुनः आशाको पुल जोड्दैछौं’ भन्ने नाराका साथ विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने तादी खोलामाथिको निर्माणाधीन उक्त पुलको काम अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ।