भरतपुर । सञ्चारकर्मी पूर्णबहादुर मगरले ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड–२०२६’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ प्रेस एन्ड पब्लिक रिलेसन अवार्ड’ प्राप्त गरेका छन् । काठमाडौँस्थित राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले अवार्ड प्रदान गरेका हुन् । नेपालसहित भारत, बङ्गलादेश र भूटानका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई ५० विधामा सम्मान गरिएको समारोहमा सञ्चार तथा जनसम्पर्क विधातर्फ मगरलाई सम्मान प्रदान गरिएको हो ।
करिब एक दशकअघि रेडियो पत्रकारिताबाट सञ्चार यात्रामा प्रवेश गरेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनपछि राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाको प्रेस संयोजक तथा सचिवालयको जिम्मेवारीमा छन् । पत्रकारका रुपमा प्राप्त अनुभवलाई स्थानीय सरकारको सञ्चार व्यवस्थापनमा प्रयोग गर्दै उनले जनप्रतिनिधि, सञ्चारमाध्यम र नागरिकबीच सूचना तथा समन्वयको भूमिका निर्वाह गर्दै आएका छन् ।
सम्मान ग्रहणपछि मगरले व्यक्तिगत उपलब्धि मात्र नभई दशक लामो यात्राको मूल्याङ्कन भएको बताएका छन् । समुदायमा सञ्चारकर्मीको जिम्मेवारी सही ढङ्गले प्रस्तुत गरेको हुँदा उनले त्यसैको प्रतिफलको रुपमा लिएका छन् । ‘यो सम्मानले आगामी दिनमा अझ बढी जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ’, उनले भने, ‘पेसागत जीवनमा सबैभन्दा ठूलो उपलब्धि पद पाउनु मात्र होइन, आफ्नो नामसँग विशिष्ट पहिचान जोडिनु पनि हो ।’