बेलायतको राजदरवारले राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारका सदस्यमाथि लगाएको ‘रंगभेद’ को आरोपलाई गम्भीर रुपमा लिएको जनाएको छ । बकिङ्गहम प्यालेसले वक्तव्य जारी गरेर ड्युक एण्ड डचेज अफ ससेक्सले अन्तर्वार्ताको क्रममा उठाएको विषयमा चासो गएको र गम्भीर रुपमा लिइएको उल्लेख गरेको हो ।
वक्तव्यमा कुनै पनि घटना वा कुराकानीको स्मरण ‘भिन्न हुन सक्ने’ भए पनि यो विषयलाई गम्भीर रुपमा लिएर निजी रुपमा सम्बोधन गरिने दरबारले बताएको छ ।अमेरिकी टेलिभिजनकर्मी ओप्रा विन्फ्रीसँगको अन्तर्वार्ताको क्रममामेगनले राजपरिवारका सदस्यले आफ्नो छोरा नजन्मिँदै उनको छालाको रंग कत्तिको ‘कालो वा खैरो’ हुन्छ भन्ने चासो दिएको खुलासा गर्नुभएको थियो । दरबारले ह्यारी, मेगन र आर्ची जहिले पनि परिवारको अति प्रिय सदस्य रहने जनाएको छ ।
बेलायती राजपरिवारमा आधुनिककालमा मेगन पहिलो ‘मिक्स्ड रेस’ सदस्य हुनुहुन्छ । उहाँले अन्तर्वार्तामा रंगभेदको आरोप लगाएपछि त्यसमा प्रतिक्रिया दिन दरबारमाथि दबाब बढेको थियो । तर,राजकुमार ह्यारीले ओप्रालाई छोरा आर्चीको छालाको रंगबारे चासो व्यक्त गर्नेमा हजुरआमा र हजुरबुवा (महारानी एलिजाबेथ द्वितिय र द ड्युक अफ एडिनर्बह) नरहेको स्पष्ट पार्नुभएको थियो ।