Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एउटै आरनबाट चार पुस्ताको रोजगारी

एउटै आरनबाट चार पुस्ताको रोजगारी

इच्छाकामना न्युज

२५, पौष २०८२
एउटै आरनबाट चार पुस्ताको रोजगारी
images

गोकर्ण दयाल, बैतडी । पम्परागत आरन पेसा लोप भइरहेका बेला यहाँको एक विश्वकर्मा परिवारका बाजे, छोरा, नाति र पनाति पुस्ताका १४ जना सदस्य एउटै आरन काम गरेर आम्दानी गर्दै आउनुभएको छ । चार पुस्ताका सदस्यको आरन मात्रै होइन, परिवारका सदस्य पनि सगोलमा बस्दै आइरहेका छन् ।  

images
images

दशरथचन्द नगरपालिका–४, जर्गौका ८० वर्षीय दुरा लुहार, उहाँका छोरा ६३ वर्षीय नरीराम लुहार, नाति पुस्ताका ४१ वर्षीय प्रेमराम लुहार, ३४ वर्षीय गजीराम लुहार, बुहारी र पनाति पुस्तासम्म एउटै आरनले धानेको छ । यो परिवार विगत ८० वर्षदेखि सगोलमा बस्दै आएको छ ।  तामा र फलामका भाँडा र औजारको माग बढेपछि उहाँको परिवारका सबै सदस्य अहिले गोठालापानी बजारमा आरन चलाएर रोजगारी गरिरहेको छ ।  

बाजे पुस्ताका दुरा लुहार अहिले पनि छोरा र नातिलाई अनुभव प्रदान गरेर सघाइरहनुभएको छ भने उहाँका ६३ वर्षीय छोरा नरीराम लुहार र उहाँका दुवै छोरा (तेस्रो पुस्ता) फलाम र तामाका सामग्री निर्माण गर्दै आइरहनुभएको छ । चौथो पुस्ताका पनाति भने विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यालय बिदाको दिन उनीहरू पनि कोइला खोज्न सहयोग गर्दै आएका छन् । 

आरन पेसाबाटै चौथो पुस्ताका सात जना नाति/नातिना कक्षा ७ देखि १० सम्म अध्ययन गरिरहेको ६३ वर्षीय नरीराम लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले पढ्न पाइन । छोराहरूले पनि १० कक्षामै पढाइ छाडे । अब नयाँ पुस्तालाई उच्च शिक्षासम्म पढाउने धोको छ ।” आरन पेसाबाट सिजनमा राम्रो आम्दानी हुने गरेको ३४ वर्षीय जगीराम लुहारले बताउनुभयो । खेतीपाती लगाउने र चाडपर्वको सिजनमा दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । अघिपछि भने घर खर्च चल्ने गरेको  छ । चार पुस्ताका १४ जनालाई एक छाकमा तीन किलो चामल पाक्ने गरेको छ । 

‘जर्गाल फोला’ का सिपालु 

जिल्लामै चर्चित तामाको जर्गाल फोला (स्थानीय गाग्री) बनाउने यो समुदाय सिपालु मानिन्छ । पछिल्लो समय तामाका गाग्री प्रयोग गर्ने चलन हराएसँगै स्थानीय फोलाको माग घट्दै गएको नरीराम लुहारले बताउनुभयो । तामाको भाँडामा राखेको पानी शरीरका लागि फाइदाजनक भए पनि तामाको मूल्य बढेपछि पछिल्लो समय फोलाको प्रयोग घट्दै गएको   छ । यद्यपि मन्दिरका लागि तामाको त्रिशूल, देडो (दीयो) तामाको गाई जस्ता प्रतिमाको माग भने घटेको छैन । 

पुस्तौनी आरन पेसा गर्दै आइरको यो परिवारका सदयस्यले वेल्डिङ गर्ने आधुनिक सिप सिक्ने धोको रहेको बताएका छन् । आरनले मात्रै परिवार धान्न नसकिने अवस्था आएको गजीराम लुहारले बताउनुभयो । जग्गा बाँझो राख्दा कृषि औजार बनाउने पनि घटेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेपछि आरन पेसाले छाक टार्न मात्रै पुग्ने गरेको उहाँहरूको भनाइ छ । 

सुदूरपश्चिम प्रदेश सरकारले टीकाराम दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत परम्परामा आधारित आरन पेसा गर्नेहरूलाई प्रोत्साहन गरेको छ । बैतडीस्थित सामाजिक विकास कार्यालय अन्तर्गत आरन पेसा गर्नेको सात दिने क्षमता विकास कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो । कार्यक्रममा चार पुस्तादेखि निरन्तर आरनमा काम गर्दै आएको गजीराम लुहारको परिवारका सदस्यसमेत सहभागी भएका छन् ।  

images
प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०८:४९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology