मुग्लिन । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परि त्रिशूली नदीमा बेपत्ता भएका एक युवाको शव भेटिएको छ । यहि फागुन २ गतेका दिन बिहान काठमाण्डौ हिडेका लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २७ वर्षीय रोहित राना इच्छाकामना ६ स्थित चेपाङडाडामा मोटरसाइकल दुर्घटनामा परि त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो । उनैको शव आज बिहान दुर्घटना स्थल भन्दा करिब १ सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

उनको शव माछा मार्न जाने स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली खटिएको थियो । शवलाई नदीबाट निकाली पोष्टमार्टमका भरतपुर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिए ।