काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियामा भएको स्पेनिस सुपर कपको फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको प्रारम्भिक समयमै रियल म्याड्रिडका लागि किलियन एमबाप्पेले उत्कृष्ट व्यक्तिगत गोल गर्दै अग्रता दिलाएका थिए। तर २२औं मिनेटमा बार्सिलोनाका युवा खेलाडी लामिन यामालले रोबर्ट लेवान्डोव्स्कीको पासमा उत्कृष्ट फिनिस गर्दै स्कोर बराबरी गरे।
बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिकको टोलीले पहिलो हाफमै खेलमा नियन्त्रण जमायो। गाभीलाई फउल गरेपछि ३६ औं मिनेटमा प्राप्त पेनाल्टीलाई लेवान्डोव्स्कीले गोलमा परिणत गर्दै बार्सालाई अग्रता दिलाए।
त्यसको तीन मिनेटमै ब्राजिलियन विंगर राफिन्हाले बल तेस्रो गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा अलेक्स बाल्डेले राफिन्हाको पासमा चौथो गोल थपे। दोस्रो हाफको शुरुमै राफिन्हाले आफ्नो दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५-१ मा पुर्याए।
तर ५६औं मिनेटमा गोलरक्षक स्जेच्नी एमबाप्पेमाथि फउल गर्दा रातो कार्ड पाए।
रियल म्याड्रिडका लागि रोड्रिगोले उक्त फ्री किकलाई गोलमा परिणत गर्दै ५-२ को स्कोर बनाएका थिए। तर, त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले १५औं पटक सुपर कप उपाधि जित्न सफल भयो।