चितवन। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले अब सुकुम्बसीलाई जग्गा जसरी पनि दिने गरी तयारी गरिएको बताएका छन् ।नेकपा (एमाले) चितवनको पार्टी कार्यालयमा आज आयोजित स्थानीय जनप्रतिनिधि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र पार्टीका नेता कार्यकर्तासँग अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘समस्या थुप्रै छन् तर जहाँ जे समस्या आउँछ त्यसलाई त्यहीँ समाधान गर्दै जान्छौं, उनी भन्छन् । यस अघिका आयोगले जहाँसम्म काम गरेका छन् त्यहीँबाट कामलाई निरन्तरता दिने उनले बताए । अब जिल्लामा पनि आयोग गठन गरेर काम थालिहाल्ने तयारीमा रहेको अध्यक्ष रिजालले बताए ।
कानुन नै संसोधन गर्नुपर्ने जटिलता बाहेकका अरु सबै जग्गामा लालपुर्जा प्रदान गरिने उनको भनाइ छ । ऐन परिवर्तन, नियमावली परिवर्तन गर्नुपर्ने समस्याहरु पनि रहेको बताउँदै उनले यी समस्याले रोक्ने बाहेकका अरु जग्गामा लालपुर्जा बाँड्ने गरी तयारी थालि हाल्ने बताएका हुन् ।
आयोगले समस्या समाधान गर्न सक्ने जति आयोगबाटै गर्ने बताउँदै उनले आयोगले नसके मन्त्रिपरिषद् र मन्त्रिपरिषद्ले पनि नसक्ने लाखको समस्या भए संसदलाई भनेर भए पनि समस्या समाधान गरिने बताए । देशका ठूला राजनीतिक दल मिलेर सरकार चलाइरहेको बेला पनि जनताले लालपुर्जा पाउन नसके जनतामा राजनैतिक दलप्रतिको विश्वास झनै गुम्ने खतरा रहेको उनले औंल्याए ।लालपुर्जा प्रदान गर्न ऐन नै संसोधन गर्न पनि दलहरु तयार हुनुपर्ने उनको भनाइ छ ।
वडाअध्यक्षहरुको भूमिक सबैभन्दा बढी जिम्मेवार रहेको बताउँदै अध्यक्ष रिजालले सुकुम्बासीको पहिचानमा वडाअध्यक्षले निकै चनाखो भएर लाग्नुपर्ने बताए । गलत गरेमा वडाध्यक्षलाई कैद सजायसम्म हुन सक्ने व्यवस्था रहेकोतर्फ सचेत गराउँदै अध्यक्ष रिजालले वडाध्यक्षहरुले राम्रोसँग साथ दिएमा लालपुर्जा वितरणको काम अझै तीव्र हुने बताएका छन् ।
कार्यक्रममा वक्ताहरुले भूमि सम्बन्धि आफ्ना स्थानका समस्याहरु सुनाएका थिए । विशेष गरी वन क्षेत्रको जग्गामा रहेका सुकुम्बासीको समस्या समाधान गर्न निकै जटिल रहेको वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य गुन्ज खड्का, विज्ञ सदस्य जगत बस्नेत र नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले बोलेका थिए ।