Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

ठेक्का तोड्ने चेतावनीपछि नारायणघाट–बुटवल सडक विस्तारको काम सुरु

ठेक्का तोड्ने चेतावनीपछि नारायणघाट–बुटवल सडक विस्तारको काम सुरु

images
ठेक्का तोड्ने चेतावनीपछि नारायणघाट–बुटवल सडक विस्तारको काम सुरु
images

नवलपुर, पुस ८ गते । सरकारले लक्ष्यअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणघाट–बुटबल सडक विस्तारले थोरै आशा देखाएको छ । ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्यअनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

चाईना स्टेटलाई आगामी मङ्सिर २५ गतेभित्र सडकको एकतर्फी ७० प्रतिशत कालोपत्रे भएको हुनुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् २०८२ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ ।

चाइना स्टेट कम्पनीले पहिलो सर्तअनुसार आगामी मङ्सिर २५ भित्र नारायनघाट–बुटवल सडक खण्डको कम्तीमा ७० प्रतिशत एकतर्फी काम सक्ने प्रतिबद्धता जनाएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । सोहीअनुसार गत चैत महिनादेखि रोकिएको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुरु भएको छ ।

गत मङ्सिरको तेस्रो सातादेखि काम सुरु गरिएको भए पनि सोचे अनुसारको प्रगति नदेखिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बताउनुभयो । ‘‘काम सुरु गरेको छ, कामदार पनि बढाएको छ, तर गति अझै नबढाएकाले गति बढावस् भन्ने हाम्रो चाहना हो,’’ आयोजना प्रमुख घिमिरेले भन्नुभयो, ‘‘यो काम गर्ने उपयुक्त मौसम भएकाले कामदार र औजार थप्न भनेकोमा ठेकेदार पनि सकारात्मक देखिएको छ ।’’

ठेकेदारले दैनिक तीन सय कामदार परिचालन गरेको बताए पनि दुई सयको हाराहारीमा कामदार खटिएको घिमिरेले बताउनुभयो । औजार र जनशक्ति बढाएर तीव्र गतिमा काम गरे पहिलो लक्ष्य पूरा गर्न कुनै समस्या नभएको आयोजनाको भनाइ छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पोख्रेलले थपिएको अवधिमा कम्तिमा एकतर्फी सडक विस्तारको काम भए ठुलो प्रगति हुने बताउनुहुन्छ । अहिलेसम्मको काम गराई हेर्दा त्योभन्दा बढी अहिलेको ठेकेदारबाट अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ ।

‘‘मङ्सिर १५ पछि ठेकेदार अलि सक्रिय भएर लागेको देखिएको छ,’’ प्रजिअ पोख्रेलले भन्नुभयो, जति सक्रिय भएर लाग्नुपर्ने हो त्यो त देखिदैन तर कामको सुरुवात गरेको छ । उनीहरुको काम गर्ने शैली र शक्ति हेर्दा तेस्रो पटक म्याद थपिएको साउन ८ भित्र कम्तिमा एकतर्फी सक्छ कि जस्तो देखिन्छ ।’’

चिनियाँ ठेकेदारले छलफलको क्रममा मध्य जनवरीदेखि कामले अलि गति लिने बताएको पोख्रेलले बताउनुभयो । अहिलेसम्म कामले गति नलिए पनि पुसको अन्त्यदेखि सडक विस्तारको काम तीव्र गतिमा हुने प्रतिवद्धता जनाएका कारण यस पटक एकतर्फी बाटो सकिने सम्भावना रहेको बताउनुभयो ।

१५ दिन पाँच घण्टा बाटो बन्द

दाउन्ने क्षेत्रमा कम्तिमा १५ दिन पाँच घण्टाका दरले बाटो खाली हुने अवस्था भएमा दाउन्ने पश्चिमको खण्ड एकतर्फी सक्ने ठेकेदारले बताएको छ । प्रजिअ पोख्रेलले जिल्ला प्रशासन कार्यालय नवलपरासीसँग पनि समन्वय गरेर बढी ट्राफिक जाम नहुने समय पारी बाटो बन्द गरेर विस्तार गर्न लगाइने बताउनुभयो ।

आयोजनाको पूर्वी खण्डका प्रमुख घिमिरेले पनि कहिलेदेखि कतिबेला बाटो बन्द गर्ने भन्ने विषयमा दुबै जिल्लाका प्रतिनिधि बसेर निर्णय गरिने बताउनुभयो ।  चिनीयाँ पक्षले पहिले नगद प्रवाहमा समस्या भएको बताउने गरेपनि अहिले त्यो समस्या नभएको बताउने गरेको छ । यसले गर्दा पनि पहिलो लक्ष्य पूरा हुने देखिएको छ ।

यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो । तर ६ वर्षमा झण्डै ५४ प्रतिशत मात्र काम गरेर आलटाल गरेपछि सरकार सम्झौता तोड्ने तयारीमा पुगेको भन्दै चेतावनी दिएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुबै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १६:०५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology