Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माघ महिनाभर देवघाटधाममा महा–महोत्सव हुने

माघ महिनाभर देवघाटधाममा महा–महोत्सव हुने

माघ महिनाभर देवघाटधाममा महा–महोत्सव हुने
images

देवघाट, मंसिर ३०

images
images

नेपालको मध्यभागमा पर्ने हिन्दुहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा माघ महिना भर देवघाटधाम महा–महोत्सव हुने भएको छ । प्रसिद्ध कथा वाचक इश्वरकृष्णजी महाराजको संकल्पमा माघ महिनाभर देवघाटधाममा महा महोत्सव हुने भएको हो ।

उक्त अवसरमा ऐतिहाँसिक मकर मेला तथा देवघाट दिव्यध्यानको शिलान्यास हुनेछ । देवघाटधाम स्थित माता पिता सेवा आश्रमको परिसरमा हुने उक्त महा–महोत्सव अवधिभर ३३ कोटी देवी देवताको नाममा ३३ करोड दिप प्रज्वलनको मुख्य कार्यक्रम रहेको छ ।

उक्त महा–महोत्सवमा देश विदेशका सुप्रसिद्ध कथा वाचकहरुद्वारा कथा वाचनको कार्यक्रम रहेको छ । देवघाटधामको धार्मिक महत्वलाई देश बिदेश सम्म पु¥याउने, सनातनी धर्मावलम्बीहरुमा देवघाटधामको महत्व बुझाउने तथा निर्माणाधिन माता पिता आश्रम सन्चालनकोलागि आर्थिक सहयोग जुटाउने उद्देश्यले उक्त महा–महोत्सव आयोजना गरिएको जनाईएको छ ।

पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिले देवघाटधामको निकै महत्व छ । साना–ठूला नदीका साथ मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी, कृष्णागण्डकी र गोसाइँकुण्डबाट आएकी त्रिशुली नदीको संगम भई मनोरम प्राकृतिक दृश्य बनेको यस क्षेत्रलाई पुराणहरुमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ वा चक्रतीर्थ आदि नामले चिनिन्छ ।

समुन्द्री सतहदेखि २०० देखि ५७५ मिटरसम्मको उचाइमा रहेको समशीतोष्ण हावापानी भएको यस क्षेत्रलाई सृष्टिको बिहानीदेखि देवताहरुले र हिन्दू संस्कृतिका संवाहक मुनि महर्षिहरुले आफ्नो कर्म र साधनाको भूमिको रुपमा उपयोग गरिआएको प्रसङ्ग पुराणहरुमा पाइन्छ ।

वर्तमानमा पनि देवघाटधाममा धेरै सन्त, महात्मा तथा साधकहरुले साधनामय जीवन विताइरहेका छन् भने धेरै गुफा, मठ, मन्दिर, साधनाकुटी, आश्रम तथा शिक्षालयहरुले यहाँको गौरव बढाइरहेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व पुराणहरुमा देवघाटधामलाई सबै तीर्थहरुमा श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने तीर्थको रुपमा वर्णन गरिएको छ ।

वराहपुराण, स्कन्दपुराण, भागवत् आदिमा यस तीर्थको ठूलो महत्व उल्लेख भएको पाइन्छ भने वराहपुराणको भनाई अनुसार यहाँ देवताहरु अटन (भ्रमण) गर्ने भएकोले यस क्षेत्रलाई देवाट वा देवघाट भन्ने नामाकरण भएको पाइन्छ । यस तीर्थमा स्नान गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ । यस क्षेत्रमा कालगतिले जसको मृत्यु हुन्छ त्यसलाई सायुज्य मुक्ति प्राप्त हुन्छ । यस पुण्यभूमिमा गरेको जप, पाठ, पूजा, हवन, दान तथा श्राद्ध आदि कर्मको फल अक्षय हुन्छ र धोरै गरेपनि धेरै फल प्राप्त हुन्छ । यहाँ पाइने शालिग्राम शिलाहरु देवताका रुप हुन् भने यहाँको जल अमृत समान हो । अत यो भूमि देवभूमि, तपोभूमि वा पुण्यभूमिको रुपमा प्रख्यात छ ।

यस्तै महत्व बुझेर वशिष्ठ, विश्वमित्र, यज्ञवल्क्य जनक, सीता आदि हजारौं महापुरुषहरुले यहाँ आई तपस्या गरे । रामले अश्वमेध यज्ञ गरेको र सीताजीको विलय भएको ठाउँ यही हो भन्ने भनाई प्रसिद्ध छ । पाल्पाका राजा मणिमुकुन्द सेनले यहीं आएर तपस्या गरेको तथ्य इतिहासमा पाइन्छ । यस्ता अनेकौं ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक तथ्यसँग जोडिएको छ देवघाटधाम ।

देवघाटधाममा अन्य पर्वहरुमा (एकादशी, पूर्णिमा, संक्रान्ति, ग्रहण आदि) सधै मेला लाग्दछ । त्यसमा पनि माघे संक्रान्तिमा ठूलो विशेष मेला लाग्ने गर्दछ । यस दिनमा देवघाटका सबै मठ, मन्दिरहरुमा भक्तजन पूजा–आजा, भजन–कीर्तन, दान–पुण्य, आदिमा व्यस्त रहन्छन् । देश–विदेशबाट आउने भक्तजनहरुको ठूलो भीड लाग्दछ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । ज्योतिषको गणना अनुसार सूर्य धन राशीबाट मकर राशीमा गएको दिनलाई मकर संक्रान्ति भनिन्छ ।

पद्मपुराणको भनाईअनुसार सूर्य मकर राशिमा गएको बेला (माघ महिनामा) देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य र प्रयागमा स्नान गरेको फल प्राप्त हुन्छ । त्यस्तै हिमवत्खण्डमा पृथ्वीभरमा जति धार्मिक तीर्थहरु छन् ती सबैमा स्नान गर्नाले जे फल मिल्छ त्यो फल देवघाटमा यस माघ महिनामा स्नान गर्नाले प्राप्त हुन्छ भनी लेखिएको छ ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:४०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology